कैलालीको गोदावरीमा टेम्पो भिरमा खसालेको आरोपमा १० जना वन कर्मचारी पक्राउ

कैलाली, ३१ जेठ । कैलालीको गोदावरी नगरपालिका–४, गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा एउटा टेम्पो भिरमा खसालिएको घटनामा प्रहरीले १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

सामाजिक सञ्जालमा वन रक्षकहरूले जबर्जस्ती टेम्पो पल्टाएको भिडियो भाइरल भएपछि प्रहरीले उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीले ६ जना र इलाका प्रहरी कार्यालय मालाखेतीले ४ जना गरी कुल १० जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार पक्राउ परेका सबै वनका कर्मचारी हुन् । “गाईबाँधेमा महिलाले खुद्रा सामान बिक्री गर्न प्रयोग गर्दै आएको टेम्पो भिरबाट खसाल्ने कार्यमा को-को प्रत्यक्ष संलग्न थिए भन्नेबारे पहिचान र सोधपुछ भइरहेको छ,” उनले भने ।

भीमदत्त राजमार्ग क्षेत्रमा वन अतिक्रमण हटाउन शुक्रबार वन कर्मचारी र वन रक्षकहरूको टोली गाईबाँधे पुगेको थियो । सोही क्रममा स्थानीय धनादेवी धामीले खुद्रा पसलका रूपमा प्रयोग गर्दै आएको टेम्पोलाई वन कर्मचारीहरूले धकेलेर भिरबाट खसालेका थिए । उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि वन प्रशासनको कार्यशैलीप्रति तीव्र आलोचना भइरहेको छ ।

यता, डिभिजन वन कार्यालय धनगढीले आइतबार बिहान पत्रकार सम्मेलन गर्दै आफ्नो बचाउ गरेको छ । कार्यालयले उक्त टेम्पो ‘कवाड’ भइसकेको र त्यसलाई छाप्रोका रूपमा प्रयोग गरेर सडक छेउमा राखिएको दाबी गरेको छ ।