साउदी अरबसँग उरुग्वे बराबरीमा रोकियो, समूह ‘एच’ को समीकरण रोचक

काठमाडौँ, २ असार । फिफा विश्वकप–२०२६ को समूह ‘एच’ अन्तर्गतको रोमाञ्चक खेलमा पूर्व विजेता उरुग्वे र साउदी अरबले बराबरी खेल्दै अङ्क बाँडेका छन् । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा आज बिहान सम्पन्न खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

यस बराबरीसँगै दुवै टोलीले विश्वकपको आफ्नो पहिलो खेलबाट समान १–१ अङ्क जोडेका छन् । खेलको सुरुवातदेखि नै रक्षात्मक रणनीति अपनाएको साउदी अरबले पहिलो हाफको अन्त्यतिर अग्रता लिएको थियो । खेलको ४१औँ मिनेटमा अब्दुल्लाह अलाम्रीले गोल गर्दै साउदीलाई १–० को अग्रता दिलाएका थिए । कडा चुनौती दिइरहेको उरुग्वेविरुद्ध साउदीले पहिलो हाफमा सोही अग्रता कायम राख्यो ।

दोस्रो हाफमा आक्रामक देखिएको उरुग्वेले बराबरी गोल फर्काउन निकै संघर्ष गर्नुपरेको थियो । खेल सकिन १० मिनेट बाँकी छँदा उरुग्वेका लागि म्याक्सी अराजोले गोल गर्दै खेललाई १–१ को स्थितिमा ल्याए । ८०औँ मिनेटमा भएको सो गोलपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल बराबरीमा टुङ्गियो ।

यो बराबरीसँगै समूह ‘एच’ को समीकरण निकै रोचक बनेको छ । यसअघि गए राति भएको सोही समूहको अर्को खेलमा स्पेन र केपभर्डेले पनि १–१ गोलको बराबरी खेलेका थिए ।

यससँगै समूहका चारवटै टोलीको पहिलो खेलपछि समान १–१ अङ्क भएको छ र गोल अन्तर पनि बराबर रहेको छ । यसले गर्दा आगामी खेलहरू यस समूहका टोलीहरूका लागि नकआउट चरणमा पुग्न निर्णायक हुने देखिएको छ ।