सिद्धिचरण नगरपालिकाको सार्वजनिक सुनुवाइमा बाँदर आतङ्क नियन्त्रण र शैक्षिक सुधारमा नागरिकको जोड

काठमाडौँ, असार २ । सिद्धिचरण नगरपालिकाले हालै आयोजना गरेको वडा तथा पालिकास्तरीय सार्वजनिक सुनुवाइमा स्थानीयवासीले बाँदर आतङ्क नियन्त्रण, गुणस्तरीय शिक्षा र रोजगारी सिर्जनाका विषयलाई प्रमुखताका साथ उठाएका छन् ।

नगरपालिकाले जेठ २१ देखि ३१ गतेसम्म सञ्चालन गरेको उक्त सुनुवाइमा १० वटै वडाका सहभागीहरूले वर्षभरि दुःख गरेर लगाएको बाली बाँदरले नष्ट गरिदिएको भन्दै यसको स्थायी समाधानका लागि विशेष प्याकेज र बजेट ल्याउन माग गरे । उनीहरूका अनुसार, केवल लखेटेर मात्र बाँदर नियन्त्रण सम्भव नभएकाले स्थानीय सरकारले ठोस कार्यक्रम ल्याउनु आवश्यक छ ।

बाँदरको समस्याबारे जिज्ञासा मेटाउँदै नगर प्रमुख तेजेन्द्र खनालले सीमित बजेट र स्रोतका कारण बाँदर नियन्त्रणका लागि पर्याप्त बजेट विनियोजन गर्न चुनौती भइरहेको स्वीकार गर्नुभयो । गाउँबाट बसाइँसराइ बढ्दै जाँदा खेतीयोग्य जमिन बाँझो भई जङ्गलमा परिणत हुनु नै बाँदरको सक्रियता बढ्नुको मुख्य कारण भएको स्थानीयको ठम्याइ छ ।

कार्यक्रममा सहभागीहरूले शिक्षा र रोजगारीको क्षेत्रमा देखिएका समस्याप्रति पनि गम्भीर ध्यानाकर्षण गराए । स्थानीय बेदुकाजी घिमिरेका अनुसार, गाउँमा अवसरको अभावले युवा जनशक्ति वैदेशिक रोजगारीमा जाने र बालबालिका पढाउने निहुँमा परिवार सहर पलायन हुने क्रम तीव्र छ । यसले गर्दा गाउँमा केवल ज्येष्ठ नागरिक मात्र बाँकी रहने र गाउँ ‘वृद्धाश्रम’ जस्तो बन्ने खतरा बढेको छ ।

शैक्षिक सुधारका सन्दर्भमा नागरिकले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले आफ्ना सन्तानलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमै पढाउनुपर्ने माग राखेका छन्। यसबाट मात्र सामुदायिक शिक्षाको गुणस्तर सुधार हुने र स्थानीयको विश्वास बढ्ने उनीहरूको तर्क छ ।

नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालित योजनाहरूको गुणस्तरीयता, सेवा प्रवाहको प्रभावकारिता र आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमका विषयमा जनगुनासो सुन्न र सुझाव संकलन गर्न यो सार्वजनिक सुनुवाइ आयोजना गरेको हो ।

नगर प्रमुख खनालले नगरपालिकाका विकास निर्माण र सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही र आर्थिक अनुशासनभित्र राख्न नागरिकको सुझाव महत्वपूर्ण हुने बताउनुभयो। स्थानीय सरकारले हरेक वर्ष सबै वडामा पुगेर नागरिकका प्रश्नको उत्तर दिँदै आएको र उठेका जायज मागहरूलाई आगामी बजेट तथा नीतिमा सम्बोधन गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।