सरकारी भवनबाट कर्मचारी सङ्घसङ्गठनका कार्यालय हटाउन प्रशासनको सातदिने अल्टिमेटम
काठमाडौँ, असार २ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सरकारी तथा सार्वजनिक निकायका भवनहरूमा सञ्चालित विभिन्न कर्मचारी सङ्घसङ्गठनका कार्यालयहरू हटाउन सात दिने समयसीमा (अल्टिमेटम) दिएको छ । प्रशासनले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै सरकारी संरचनाभित्र रहेका यस्ता कार्यालयहरू सात दिनभित्र खाली गर्न निर्देशन दिएको हो ।
कार्यालयका प्रशासकीय अधिकृत तीर्थराज कटेलका अनुसार संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका तर सरकारी भवन तथा परिसर ओगटेर बसेका विभिन्न पेसागत सङ्घ, सङ्गठन, र संस्थाहरूका केन्द्रीय, प्रादेशिक, जिल्ला वा सम्पर्क कार्यालयहरूलाई हट्न भनिएको छ ।
सूचनामा उल्लेख भएअनुसार, सरकारी भवनमा राखिएका सङ्घसङ्गठनका साइनबोर्डहरू हटाउनुका साथै ती कार्यालयहरू निजी वा भाडाको भवनमा स्थानान्तरण गरी सोको जानकारी प्रशासनलाई गराउनुपर्नेछ ।
यसैगरी, काठमाडौँ प्रशासनले जिल्लास्थित सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूलाई समेत पत्राचार गर्दै आफ्नो हाताभित्र रहेका सङ्घसंस्थाका बोर्ड तथा संरचनाहरू हटाउन र ओगटिएका क्षेत्रहरू खाली गराउन निर्देशन दिएको छ ।
प्रशासनले उक्त निर्देशनको अवज्ञा गरी सरकारी भवनमै कार्यालय सञ्चालन गरिरहेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ। केही समयदेखि सरकारी कार्यालयभित्र राजनीतिक दल निकट कर्मचारी सङ्गठनका कार्यालय रहँदा प्रशासनिक कार्य सम्पादनमा असर परेको जनगुनासो बढिरहेका बेला प्रशासनले यस्तो कदम चालेको हो ।