प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल जारी, पूर्वसांसद गुप्ताको निधनमा शोक प्रस्ताव पारित
काठमाडौँ, असार २ । प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका बजेट शीर्षकहरूमाथि दफावार छलफल भएको छ ।
बैठकमा आज विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानुन, न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र, अर्थ र रक्षा मन्त्रालयको बजेटमाथि छलफल भएको थियो । साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयका लागि विनियोजित बजेटका शीर्षकहरूमा समेत सांसदहरूले धारणा राखेका थिए ।
छलफलमा सहभागी हुँदै सांसदहरू नितिमा भण्डारी (कार्की), पुकार बम, राम लामा, बदनकुमार भण्डारी, अङ्किता ठाकुर, बुद्धिप्रसाद पन्त, धनेन्द्र कार्की, सुशान्त वैदिक, सुलभ खरेल र स्मृति सेन्चुरीले सम्बन्धित मन्त्रालयका योजना तथा बजेट विनियोजनका प्राथमिकताका विषयमा आ-आफ्नो धारणा व्यक्त गर्नुभयो ।
सोही बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य मङ्गलप्रसाद गुप्ताको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
प्रतिनिधिसभाको अर्को बैठक भोलि असार ३ गते मंगलबार बिहान ११ बजे बस्नेछ। भोलिको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा विभिन्न मन्त्रालयका शीर्षकहरूमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।