आवासीय चिकित्सकलाई ‘ओभरटाइम’ काम नलगाउन चिकित्सा शिक्षा आयोगको निर्देशन, इन्टर्नसिप भत्ता पनि बढाउनुपर्ने

काठमाडौँ, २ असार । चिकित्सा शिक्षा आयोगले आवासीय चिकित्सक (रेसिडेन्ट डक्टर्स) को कार्यबोझ अत्यधिक भएको भन्दै त्यसलाई तत्काल नियन्त्रण गर्न र पाठ्यक्रमअनुसार मात्रै सेवामा खटाउन निर्देशन दिएको छ।

चिकित्सकहरूलाई तोकिएको भन्दा बढी समय काममा लगाउँदा उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर परेको गुनासो आएपछि आयोगले यस्तो कदम चालेको हो।

आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले सोमबार सबै विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई पत्राचार गर्दै चिकित्सकहरूको कार्यबोझलाई पाठ्यक्रमको परिधिभित्र ल्याउन निर्देशन दिएका हुन्।

आयोगमा प्राप्त गुनासाहरूअनुसार आवासीय चिकित्सकहरूलाई क्षमताभन्दा बढी समय ड्युटी गर्न बाध्य पारिएको छ। यसले उनीहरूको सिकाई र स्वास्थ्य दुवैमा नकारात्मक प्रभाव पारेको आयोगको ठहर छ। “चिकित्सकको कार्यबोझ अत्यधिक हुँदा शारीरिक तथा मानसिक असर परेको गुनासो आएकाले सम्बन्धित विषयको पाठ्यक्रमको परिधिमा रही सेवामा खटाउने व्यवस्था गरी यथाशीघ्र जानकारी गराउन निर्देशन दिइएको छ,” आयोगले जारी गरेको पत्रमा उल्लेख छ।

यसैगरी, आयोगले मेडिकल तथा डेन्टल विषयका स्नातक तहका विद्यार्थीहरूको इन्टर्नसिप भत्ताका विषयमा पनि कडा निर्देशन दिएको छ। कतिपय निजी मेडिकल कलेजहरूले इन्टर्नसिपमा खटिने विद्यार्थीहरूलाई अति न्यून भत्ता दिने गरेको र शिक्षण संस्थाहरूबीच भत्ताको दरमा ठूलो असमानता रहेको पाइएपछि आयोगले यसमा कडाइ गरेको हो।

आयोगले अबदेखि मेडिकल कलेजहरूले आफ्ना आङ्गिक अस्पतालमा सेवा पुर्‍याएबापत प्रदान गर्दै आएको भत्ता सरह नै इन्टर्नहरूलाई पनि भत्ता उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ। शिक्षण संस्थामा सेवा प्रदान गर्ने इन्टर्नसिपका चिकित्सकहरूलाई न्यायोचित र समान भत्ताको व्यवस्था गरी सोको विवरण आयोगलाई बुझाउन अनुरोध गरिएको छ।

आयोगको यो निर्देशनपछि लामो समयदेखि कार्यबोझ र न्यून भत्ताको विरोध गर्दै आएका आवासीय चिकित्सक र मेडिकल विद्यार्थीहरूले राहत महसुस गर्ने अपेक्षा गरिएको छ।