आजको मौसम : पहाडी भूभागमा बादल लाग्ने, तराईका केही स्थानमा तातो हुने

काठमाडौँ, ३ असार । नेपालको पहाडी तथा हिमाली भेगमा आज बदलीको सम्भावना छ भने पश्चिम तराईका जिल्लाहरूमा अत्यधिक गर्मी हुने देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र पूर्वीय वायुको मिश्रित प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । यसैगरी मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको तराईका थोरै स्थान तथा मधेस प्रदेशको पनि एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ ।

त्यसैगरी आज राति देशको हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा बागमती प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।