लुइस डियाज चम्किँदा कोलम्बियाको विजयी सुरुआत, उज्बेकिस्तान ३-१ ले पराजित

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बियाले डेब्यु टोली उज्बेकिस्तानलाई ३-१ ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ। मेक्सिको सिटीमा सम्पन्न रोमाञ्चक खेलमा लुइस डियाजले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गर्दै टोलीको जितमा निर्णायक भूमिका खेले।

खेलको सुरुआतदेखि नै आक्रामक देखिएको कोलम्बियाले ४०औँ मिनेटमा ड्यानियल मुनोजको गोलमार्फत अग्रता लिएको थियो। लुइस डियाजको सटीक पासलाई मुनोजले उत्कृष्ट फिनिस गर्दै टोलीलाई पहिलो गोल दिलाएका हुन्।

पहिलो हाफमा पछि परेको उज्बेकिस्तानले दोस्रो हाफमा सशक्त पुनरागमन गर्‍यो। ६०औँ मिनेटमा अब्बोसबेक फैजुल्लायेभले गोल गर्दै विश्वकप इतिहासमा उज्बेकिस्तानको पहिलो गोल दर्ता गरे र खेल १-१ को बराबरीमा ल्याए।

तर उज्बेकिस्तानको खुसी लामो समय टिक्न सकेन। ६५औँ मिनेटमा लुइस डियाजले गरेको प्रहार गोलकिपर उत्किर युसुपोभको हातमा लाग्दै जाली चुमेपछि कोलम्बियाले पुनः अग्रता हासिल गर्‍यो। यो डियाजको विश्वकप करियरको पहिलो गोल समेत बनेको छ।

इन्जुरी समयको नवौँ मिनेटमा वैकल्पिक खेलाडी जामिन्टन काम्पाजले हेडमार्फत गोल गर्दै कोलम्बियाको जित सुनिश्चित गरे। कुचो हेर्नान्डेजको उत्कृष्ट क्रसमा उनले आकर्षक हेडर गोल गरेका थिए।

यस जितसँगै कोलम्बियाले समूह ‘के’ मा सुरुआती अग्रता बनाएको छ। यसअघि समूहकै अर्को खेलमा पोर्चुगल र कंगो डीआर बराबरीमा रोकिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *