म्यानचेस्टर सिटीविरुद्धको आरोपमा सीईओ सोरियानोको चुनौतीपूर्ण प्रतिक्रिया
काठमाडौं । म्यानचेस्टर सिटीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फेरान सोरियानोले क्लबमाथि लगाइएका प्रिमियर लिगका आर्थिक नियम उल्लंघनसम्बन्धी आरोपविरुद्ध कानुनी लडाइँ जारी राख्ने बताएका छन् ।
युरोपियन फुटबल क्लब्स (पूर्व ईसीए) को बोर्ड बैठकमा सहभागी हुने क्रममा डेनमार्कको कोपेनहेगनमा सोरियानोले अन्य क्लबका कार्यकारीहरूसामु क्लबविरुद्धको प्रक्रिया अझै लामो समय चल्ने बताएका हुन् । प्रेस एसोसिएसनका अनुसार उनले सिटीविरुद्धको अनुसन्धान सुरु भएको आठ वर्ष बितिसकेको उल्लेख गर्दै प्रक्रिया अझै धेरै समय लम्बिन सक्ने बताएका थिए ।
बैठकपछि सोरियानो सञ्चारकर्मीका कुनै प्रश्नको जवाफ नदिई बाहिरिएका थिए ।
प्रिमियर लिगले म्यानचेस्टर सिटीमाथि आर्थिक नियम उल्लंघनसँग सम्बन्धित ११५ आरोप लगाएको थियो । ती आरोपमध्ये प्रायः सबैमा क्लब दोषी ठहरिएको शुक्रबार सार्वजनिक भएको थियो । सिटीमाथि सम्बन्धित कम्पनीबाट प्राप्त प्रायोजन रकम बढाएर देखाएको तथा आर्थिक नियम छल्न ‘अफ द बुक्स’ भुक्तानी गरेको आरोपसमेत लगाइएको थियो ।
यद्यपि, क्लबले उक्त निर्णयविरुद्ध अपिल गर्ने तयारी गरिरहेको बीबीसी स्पोर्ट्सलाई बताइएको छ । यस प्रकरणमा म्यानचेस्टर सिटीमाथि लगाइने अन्तिम सजाय भने अझै घोषणा भएको छैन । सम्भावित कारबाहीमा अंक कटौती, प्रिमियर लिगबाट निष्कासन वा ठूलो जरिवाना हुन सक्ने बताइएको छ ।
यसैबीच, केही प्रिमियर लिग क्लबहरूले आरोपसँग सम्बन्धित क्षतिपूर्तिका विषयमा कानुनी परामर्श लिन थालेका छन् ।
प्रिमियर लिगले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ । म्यानचेस्टर सिटीले भने कानुनी प्रक्रिया अझै जारी रहेको र महत्वपूर्ण विषयहरू टुंगिन बाँकी रहेको जनाएको छ । साथै, सम्पूर्ण प्रक्रिया कडा गोपनीयतामा रहेको क्लबले स्पष्ट पारेको छ ।
क्लबका अध्यक्ष खाल्दुन अल मुबारकले शनिबार समर्थकलाई पत्र पठाउँदै सिटी आफ्नो निर्दोषिता प्रमाणित गर्ने विषयमा अझै विश्वस्त रहेको बताएका थिए ।
उनले कानुनी प्रक्रियामा धेरै विषय सार्वजनिक गर्न नसकिएको उल्लेख गर्दै क्लबले सुरुदेखिकै आफ्नो धारणा र निर्दोषिता प्रमाणित गर्ने प्रतिबद्धता कायम राखेको बताएका छन् ।
फेरान सोरियानो सन् २०१२ मा म्यानचेस्टर सिटीको प्रमुख कार्यकारी अधिकृत बनेका थिए ।
