वर्षाले खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा, नेपाल एसियाडबाट बाहिरियो

काठमाडौं, १३ असोज । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएसँगै वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा पुगेको छ भने नेपालको एसियाड यात्रा क्वाटरफाइनलमै टुंगिएको छ ।

नेपाल र श्रीलंकाबीचको तेस्रो क्वाटरफाइनल खेल बिहान पौने ६ बजे सुरु हुने तय थियो । तर लगातारको वर्षाका कारण मैदान खेलका लागि तयार हुन नसकेपछि खेल रद्द गरिएको हो ।

प्रतियोगिताको नियमअनुसार खेल हुन नसकेपछि वरीयतामा अगाडि रहेको श्रीलंकाले सेमिफाइनलमा स्थान बनाएको हो । आइसिसीको टी–२० वरीयतामा श्रीलंका नवौँ र नेपाल १४औँ स्थानमा रहेका छन् ।

नेपालले समूह चरणमा अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो । त्यसपछि आयोजक जापानसँगको खेल नतिजाविहीन भएपछि तीन अंकसहित नेपाल समूह ‘ए’ को विजेता बनेर क्वाटरफाइनलमा पुगेको थियो ।

नेपालले एसियाली खेलकुदमा यसअघि सन् २०१०, २०१४ र २०२२ मा पनि क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो । ती संस्करणमा पनि नेपाल क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।

यसअघि हङकङ–पाकिस्तान तथा भारत–अफगानिस्तानबीचका क्वाटरफाइनल खेल पनि वर्षाका कारण रद्द भएका थिए । ती खेलमा वरीयताका आधारमा पाकिस्तान र भारत सेमिफाइनल पुगेका थिए ।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा आजै बिहान पौने ११ बजे मलेसिया र बंगलादेशबीच खेल हुने तालिका छ । वर्षा जारी रहेकाले उक्त खेलसमेत प्रभावित हुने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *