विनोद दास मलेसिया क्रिकेट संघको सीओओ नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विनोद दास मलेसिया क्रिकेट एसोसिएसन (एमसीए) को चिफ अपरेटिङ अफिसर (सीओओ) नियुक्त भएका छन्।

मलेसिया क्रिकेट संघले करिब एक महिनाअघि सीओओ पदका लागि खुलाएको आवेदनमा दास छनोट भएका हुन्। नियुक्तिसम्बन्धी औपचारिक सम्झौताका लागि आफू अर्को साता मलेसिया जाने तयारीमा रहेको दासले जानकारी दिए।

‘छनोट भएको खबर आएको छ। दुई पक्षबीच हस्ताक्षर गर्न बाँकी छ। त्यसका लागि अर्को हप्तातिर मलेसिया जान्छु होला,’ दासले भने।

दास यसअघि नेपाल क्रिकेट संघ (क्यान) मा क्रिकेट अपरेसन म्यानेजरका रूपमा कार्यरत थिए। मलेसिया जाने तयारीसँगै उक्त जिम्मेवारीबाट अलग हुने जानकारी क्यानलाई गराइसकेको उनले बताए।

राष्ट्रिय टोलीका पूर्वकप्तान दासले सन् २००० को दशकमा यू–१९ देखि राष्ट्रिय टोलीसम्मको नेतृत्व गरेका थिए। खेलाडी जीवनपछि प्रशिक्षकका रूपमा समेत सक्रिय उनले नेपाली यू–१९ पुरुष टोली र महिला राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन्।

नेपाली क्रिकेटसँग करिब दुई दशकदेखि विभिन्न भूमिकामा जोडिएका दासले खेलाडी, कप्तान, प्रशिक्षक तथा क्रिकेट व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएका छन्। मलेसिया क्रिकेट संघको सीओओका रूपमा उनको नयाँ जिम्मेवारी क्रिकेट प्रशासन तथा सञ्चालनसँग सम्बन्धित हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *