धिरेन राईलाई वडा अध्यक्ष कप चेसको उपाधि
काठमाडौँ, ११ असोज । खोटाङका धिरेन राईले दोस्रो काठमाडौँ महानगरपालिका–१० वडाध्यक्ष कप राष्ट्रिय खुला रेपिड चेस प्रतियोगिताको उपाधि जित्नुभएको छ ।
काठमाडौँ महानगरपालिका–१० ले शनिबार र आइतबार आयोजना गरेको प्रतियोगिता स्विस लिग प्रणालीमा सञ्चालन भएको थियो। नौ चरणमा सम्पन्न प्रतियोगितामा राईले ८ दशमलव ५ अङ्क प्राप्त गर्दै उपाधि हात पार्नुभएको हो।
झापाका ज्वाला लिम्बूले आठ अङ्क प्राप्त गर्दै दोस्रो स्थान हासिल गर्नुभयो भने मकवानपुरका क्षितिज भण्डारीले ७ दशमलव ५ अङ्कसहित तेस्रो स्थान प्राप्त गर्नुभयो। समान सात दशमलव ५ अङ्क प्राप्त गर्नुभएका भक्तपुरका निकेन कुसाथा चौथो हुनुभयो। रौतहटका सुमन लामा पाँचौँ तथा राजेन्द्रप्रसाद श्रेष्ठ छैटौँ हुनुभयो।
सात अङ्क प्राप्त गर्ने रिसन थापा, मिसन दाहाल, शैलेन्द्र न्यौपाने र प्रकाशचन्द्र नेपाल पनि प्रतियोगिताको शीर्ष १० मा रहनुभयो। प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट २२० जना खेलाडीको सहभागिता रहेको थियो।
प्रतियोगिता समापनका अवसरमा वडाध्यक्ष एवं काठमाडौँ महानगरपालिकाको सामाजिक समितिका संयोजक रामकुमार केसीले विजेता राईलाई २६ हजार २५० रुपियाँ तथा उपविजेता लिम्बूलाई २२ हजार ५०० रुपियाँ पुरस्कार प्रदान गर्नुभयो। तेस्रो स्थान हासिल गर्ने खेलाडीलाई १८ हजार रुपियाँ र चौथो स्थानका खेलाडीलाई ११ हजार २५० रुपियाँ प्रदान गरिएको थियो। पाँचौँदेखि १०औँ स्थान हासिल गर्ने खेलाडीले जनही सात हजार ५०० रुपियाँ प्राप्त गरे।
पुरस्कार वितरण गर्दै वडाध्यक्ष केसीले प्रतियोगितालाई आगामी दिनमा महानगरस्तरीय प्रतियोगिताका रूपमा विस्तार गर्ने योजना रहेको बताउनुभयो। उहाँले खेलकुदलाई वडा तहबाट विकास गर्दै महानगरस्तरमा लैजाने बताउनुभयो।
महिलातर्फ राधिका पौडेलले पहिलो स्थान हासिल गर्नुभयो। कुसुम घिसिङ दोस्रो तथा अग्रता आचार्य तेस्रो हुनुभयो।
वडा सचिव सुबोध खड्काका अनुसार प्रतियोगितामा छ वर्षदेखि ७५ वर्षभन्दा माथिका खेलाडीसमेत सहभागी भएका थिए। विभिन्न उमेर समूहका खेलाडीको सहभागिताले प्रतियोगितालाई थप समावेशी बनाएको उहाँले बताउनुभयो।
कार्यक्रमका निर्देशक इन्द्र बस्नेतले वडा तहबाट आयोजना हुने यस्ता खेल प्रतियोगिताले नेपाली बुद्धिचालको विकासमा नयाँ आयाम थप्ने बताउनुभयो। प्रतियोगितामा थापाथली पार्क चेस क्लबले प्राविधिक सहयोग गरेको थियो।
