जावलाखेलकाे चिडियाखानामा ‘बर्ड फ्लु’को सूचना लुकाएको आरोपमा प्रमुख साह पदमुक्त, एक हप्ताभित्र प्रतिवेदन बुझाउन निर्देशन

काठमाडौँ, ६ असार । जावलाखेलस्थित सदर चिडियाखानामा ‘बर्ड फ्लु’ (एच फाइभ एन वान) को सङ्क्रमण पुष्टि भएको विषय गुपचुप राखेको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साहमाथि छानबिन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई लापरवाही गरेको भन्दै उनलाई जिम्मेवारीबाट हटाइएको हो ।

कोषका अध्यक्ष एवं कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा साहलाई चिडियाखाना प्रमुखको पदबाट हटाएर केन्द्रीय कार्यालयमा तानिएको छ । साहलाई हटाएसँगै चिडियाखानाको निमित्त प्रमुखको जिम्मेवारी वरिष्ठ अधिकृत बाबुलाल तिरुवालाई दिइएको छ ।

चिडियाखानामा फैलिएको बर्ड फ्लुको कारण र सूचना लुकाउनुको पछाडिको रहस्य पत्ता लगाउन कोषले तीन सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । कोषकी प्रवक्ता एवं प्रजाति विभाग प्रमुख रचना शाहको संयोजकत्वमा गठित समितिमा प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभाग प्रमुख डा. मधु क्षेत्री सदस्य रहेका छन् । समितिलाई सात दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

पशु सेवा विभागमा गरिएको नमुना परीक्षणका क्रममा चिडियाखानाका पन्छी र जनावरमा बर्ड फ्लु पुष्टि भएको थियो । चिडियाखानामा करिब १० दिनअघि देखि नै पन्छी र जनावरहरू मर्न थालेका थिए । सुरुमा चराचुरुङ्गी मरेपछि गरिएको परीक्षणमा बकुल्ला, लाटोकोसेरो र गिद्धमा सङ्क्रमण देखिएको थियो । सङ्क्रमण पन्छीमा मात्र सीमित रहेन, जनावरतर्फ नीरबिरालो र चरीबाघमा समेत बर्ड फ्लु फेला परेको छ । यति संवेदनशील विषयमा पनि प्रमुख साहले केन्द्रलाई ‘रिपोर्टिङ’ नगरी गुपचुप राखेको मन्त्रालयको ठहर छ ।

वन्यजन्तुको सुरक्षा र सूचना प्रवाहमा गम्भीर नभएको भन्दै साहमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाइएको हो । “बर्ड फ्लु जस्तो जनस्वास्थ्य र वन्यजन्तुसँग जोडिएको संवेदनशील विषयमा समयमै जानकारी नदिनु ठूलो हेलचेक्र्याइँ हो,” कोषको केन्द्रीय कार्यालयले जनाएको छ ।

अहिले चिडियाखानामा उच्च सतर्कता अपनाइएको छ भने मरेका वन्यजन्तुको व्यवस्थापन र अन्य पन्छीको निगरानी बढाइएको छ । छानबिन समितिको प्रतिवेदन आएपछि दोषी देखिएमा साहमाथि थप कडा कारबाही हुने सङ्केत मन्त्रालयले दिएको छ ।