विश्वकपमा नेदरल्यान्ड्सको शानदार जित, स्विडेनमाथि ५–१ को फराकिलो विजय

काठमाडौं, असार ७ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को महत्वपूर्ण खेलमा नेदरल्यान्ड्सले स्विडेनलाई ५–१ गोल अन्तरले पराजित गर्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ।

ह्युस्टनमा शनिबार राति सम्पन्न खेलमा नेदरल्यान्ड्सका ब्रायन ब्रोबे र कोडी गाक्पोले समान दुई–दुई गोल गरेपछि टोलीले प्रभावशाली जित दर्ता गरेको हो। क्रिसेन्सियो समरभिलले एक गोल थप्दा स्विडेनका लागि एन्थोनी एलाङ्गाले सान्त्वना गोल फर्काए।

खेलको पाँचौं मिनेटमै गाक्पोको उत्कृष्ट क्रसमा ब्रोबेले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए। त्यसको १२ मिनेटपछि डेन्जेल डम्फ्रिसको लो–क्रसलाई सदुपयोग गर्दै ब्रोबेले व्यक्तिगत दोस्रो गोल गरेपछि नेदरल्यान्ड्सले २–० को बलियो अग्रता बनायो।

दोस्रो हाफ सुरु भएको केही समयमै गाक्पोले लगातार दुई गोल गर्दै खेललाई नेदरल्यान्ड्सको पक्षमा एकतर्फी बनाए। उनले ४७औं र ५४औं मिनेटमा गोल गर्दै टोलीलाई ४–० को अग्रता दिलाए।

५९औं मिनेटमा वैकल्पिक खेलाडी एलाङ्गाले स्विडेनका लागि एक गोल फर्काउँदै खेलमा फर्कने संकेत दिएका थिए। तर खेलको ८९औं मिनेटमा समरभिलले शक्तिशाली प्रहारमार्फत गोल गर्दै नेदरल्यान्ड्सको ५–१ को जित सुनिश्चित गरे।

यस जितसँगै नेदरल्यान्ड्स समूह ‘एफ’ को शीर्ष स्थानमा पुगेको छ। स्विडेन भने दोस्रो स्थानमा झरेको छ। समूहको अर्को खेलमा जापान र ट्युनिसिया भिड्ने कार्यक्रम रहेको छ।

यस खेलमा दुई गोल र एक असिस्ट गरेका कोडी गाक्पोलाई ‘माइकलोब अल्ट्रा सुपेरियर प्लेयर अफ द म्याच’ घोषित गरिएको छ। विश्वकपमा उनको यो पाँचौं गोल हो। उनी अब नेदरल्यान्ड्सका विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता जोनी रेपको कीर्तिमानभन्दा केवल दुई गोलले मात्र पछाडि रहेका छन्।