होर्मुज जलमार्गको विवाद : इरानले भन्यो– ‘बन्द भयो’, अमेरिकाको दाबी– ‘खुल्लै छ’, आज स्विटजरल्याण्डमा निर्णायक वार्ता

काठमाडौँ, ७ असार । दक्षिणी लेबनानमा इजरायलले गरेको भीषण हवाई आक्रमणपछि विश्वकै महत्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ (होर्मुज जलडमरूमध्य) लाई लिएर इरान र अमेरिकाबीच विरोधाभासपूर्ण दाबी बाहिर आएका छन् । इरानले सो जलमार्ग पुनः बन्द गरेको घोषणा गरे पनि अमेरिकी सेनाले भने जलमार्ग खुल्लै रहेको दाबी गरेको छ ।

इजरायल र हेजबुल्लाहबीच नयाँ युद्धविराम घोषणा भएको २४ घण्टा नबित्दै दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएपछि इरानले होर्मुज जलमार्ग बन्दको घोषणा गरेको हो ।

इरानले जलमार्ग बन्द भएको बताए पनि अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) का प्रवक्ता टिम हकिन्सले जहाजहरूको आवतजावत सामान्य रूपमा जारी रहेको बताएका छन् । सेन्टकमका अनुसार शनिबार मात्रै ५५ वटा व्यापारिक जहाजले उक्त जलमार्ग प्रयोग गरेका छन् । बीबीसीका अनुसार शनिबार कम्तीमा पाँचवटा तेल ट्याङ्करले सो मार्ग पार गरेका छन् भने केही जहाजले बीचमै बाटो परिवर्तन गरेका छन् ।

अमेरिकी सेनाले इरानले होर्मुज जलमार्ग नियन्त्रण नगर्ने दाबी गर्दै परिस्थितिको निरन्तर निगरानी गरिरहेको जनाएको छ । तनाव उत्कर्षमा रहेकै बेला अमेरिका र इरानबीच आणविक मुद्दा र लेबनान युद्धविरामबारे छलफल गर्न आज (आइतबार) स्विटजरल्याण्डमा प्रत्यक्ष वार्ता हुँदैछ ।

वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स शनिबार वासिङ्टनबाट प्रस्थान गरिसकेका छन् । इरानी अधिकारीहरू यसअघि नै स्विटजरल्याण्ड पुगिसकेका छन् । जेडी भान्सले यो वार्ताबाट लेबनानमा जारी हिंसा कम गर्न र इजरायल तथा लेबनान दुवैको सुरक्षा सुनिश्चित गर्न प्रगति हुने अपेक्षा व्यक्त गरेका छन् ।

यस वार्तामा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ पनि सहभागी हुनेछन् । पाकिस्तानले यो द्वन्द्वभर मध्यस्थकर्ताको भूमिका निभाउँदै आएको छ । यसअघि गत अप्रिलमा इस्लामावादमा पनि दुई देशबीच वार्ताको एक चरण सम्पन्न भएको थियो ।
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सामाजिक सञ्जालमार्फत इरानलाई चेतावनी दिएका छन् । सहमति नभए अमेरिकाले होर्मुज जलमार्ग प्रयोग गर्ने जहाजहरूमाथि भारी शुल्क (ट्याक्स) लगाउन सक्ने ट्रम्पको संकेत छ ।

इरानले अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीको पहिलो बुँदा इजरायलले उल्लङ्घन गरेको आरोप लगाएको छ । उक्त बुँदामा लेबनानसहित सबै क्षेत्रमा सैन्य कारबाही तत्काल र स्थायी रूपमा अन्त्य गर्ने उल्लेख थियो । इजरायलले लेबनानमा पुनः आक्रमण गरेपछि सम्झौताको औचित्य सकिएको भन्दै इरानले होर्मुज बन्द गर्ने कठोर निर्णय लिएको हो ।

विश्वको करिब २० प्रतिशत तेल र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) ओसारपसार हुने यो जलमार्ग बन्द भएमा विश्व बजारमा इन्धनको मूल्यमा ठूलो असर पर्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।