कोशीमा मनसुन सक्रिय: बिहानैदेखि वर्षा, तराईमा भने ‘लु’ को जोखिम कायमै
काठमाडौँ, ८ असार । नेपालमा मनसुन भित्रिएसँगै कोशी प्रदेशका विभिन्न जिल्लामा आज बिहानैदेखि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ भने बाँकी भू-भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ।
आज बिहान कोशीका विभिन्न स्थानमा वर्षा मापन गरिएको छ। महाशाखाका अनुसार झापाको चन्द्रगढी विमानस्थल क्षेत्रमा पछिल्लो एक घण्टामा ११.८ मिलिमिटर र संखुवासभाको नुममा ९.४ मिलिमिटर वर्षा भएको छ। यस्तै, ताप्लेजुङ, सोलुखुम्बु र सुनसरीका केही भागमा पनि वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा वर्षाको सम्भावना छ। यस्तै, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्।
कोशीको तराई र मधेश प्रदेशका एक-दुई स्थानमा पनि वर्षाको सम्भावना छ। यस्तै, उच्च हिमाली भेगका थोरै स्थानमा सामान्य हिमपात हुन सक्ने महाशाखाको बुलेटिनमा उल्लेख छ।
एकतर्फ पहाडी भेगमा वर्षा भइरहँदा तराईमा भने गर्मीको कहर कायमै रहने देखिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा आज पनि ‘तातो लहर’ (लू) चल्ने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि अत्यधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना छ। साथै मधेश र कोशी प्रदेशको तराईका केही स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।