भरतपुर अस्पतालको सिटी स्क्यान बिग्रिएपछि वैकल्पिक व्यवस्था: निजी अस्पतालमा सरकारी दरमै सेवा
चितवन, १० असार । चितवनको भरतपुर अस्पतालमा सिटी स्क्यान मेसिन बिग्रिएर सेवा अवरुद्ध भए पनि बिरामीको सहजताका लागि अस्पतालले वैकल्पिक व्यवस्था गरेको छ। अस्पतालले मेसिनमा प्राविधिक समस्या आएपछि केही दिनयता निजी अस्पतालहरूसँगको समन्वयमा सेवालाई निरन्तरता दिइएको हो।
अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार, सिटी स्क्यानका लागि आउने बिरामीहरूलाई मर्का नपरोस् भनेर निजी अस्पताल समन्वय समिति (अफिन) चितवनसँग विशेष सम्झौता गरिएको छ। सम्झौताअनुसार भरतपुर अस्पतालमा स्वास्थ्य बीमाअन्तर्गत लाग्ने सरकारी दररेटमै अफिनसँग आबद्ध निजी अस्पतालहरूले सिटी स्क्यान सेवा उपलब्ध गराउनेछन्।
“बीमा भएका बिरामीहरूले भरतपुर अस्पतालमा जति शुल्क तिर्नुपर्थ्यो, त्यही दरमा निजी अस्पतालहरूमा पनि सेवा पाउने गरी अफिनसँग सहमति भएको छ,” प्रवक्ता डा. सापकोटाले भन्नुभयो, “बिरामीलाई अस्पतालकै सवारीसाधनमार्फत निजी अस्पतालसम्म लैजाने र परीक्षणपछि पुनः भरतपुर अस्पतालमै ल्याउने व्यवस्था मिलाएका छौँ।”
भरतपुर अस्पतालको नौ वर्ष पुरानो सिटी स्क्यान मेसिनको एक्स–रे ट्युब बिग्रिएपछि सेवा रोकिएको हो। नयाँ ट्युब नेदरल्यान्ड्सबाट मगाउनुपर्ने भएकाले मेसिन पूर्ण रूपमा सञ्चालन हुन करिब दुई हप्ता लाग्ने अस्पताल प्रशासनले जनाएको छ।
नियमित रूपमा दैनिक करिब ५० जनाले सिटी स्क्यान सेवा लिँदै आएको यस अस्पतालमा मेसिन मर्मतको काम अघि बढाइएको छ। मर्मत अवधिभर बिरामीको सेवामा कुनै अवरोध नआउने गरी व्यवस्थापन मिलाइएको अस्पतालले स्पष्ट पारेको छ।