बर्डफ्लु प्रभावित ११ जिल्लाका किसानलाई क्षतिपूर्ति दिन ५० करोड निकासा
काठमाडौँ, १९ असार । कृषि, वन तथा पर्यावरण मन्त्रालयले बर्डफ्लु (एच५एन१) महामारीबाट ठूलो आर्थिक नोक्सानी व्यहोरेका कृषकहरूलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन ५० करोड रुपैयाँ निकासा गरेको छ। मन्त्रालयले बजेट रकमान्तर गरी पशुसेवा विभागलाई सो रकम हस्तान्तरण गरेको हो।
पशुसेवा विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार निकासा भएको यस रकमबाट बर्डफ्लु सङ्क्रमण पुष्टि भएका विभिन्न ११ वटा जिल्लाका पीडित किसानहरूलाई प्रमाणित विवरणका आधारमा क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति वितरण गरिनेछ।
विभागका अनुसार हालसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा गरी करिब ७ लाख पन्छी (हाँस-कुखुरा), ११ लाख गोटा अण्डा र ३ लाख किलो दाना नष्ट गरिएको छ। यसबाट पोल्ट्री व्यवसायी र कृषकहरूलाई कुल ७० करोड रुपैयाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति पुगेको अनुमान छ।
‘बर्डफ्लु रोग नियन्त्रण (चौथो संशोधन) आदेश, २०७४’ को कानुनी व्यवस्था बमोजिम सरकारले नष्ट गरिएका पन्छी र पन्छीजन्य सामग्रीको प्रमाणीकरण गरी कुल मूल्याङ्कनको ७५ प्रतिशतसम्म सम्बन्धित धनीलाई क्षतिपूर्ति दिने प्रावधान छ।
गत चैत महिनादेखि देशको पूर्वी क्षेत्रबाट फैलन सुरु भएको बर्डफ्लु सङ्क्रमण हाल ११ जिल्लामा देखिइसकेको छ। भाइरसको स्वरूप (म्युटेसन) परिवर्तन भई जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने जोखिम रहेकाले महामारी नियन्त्रणका लागि पूर्वसावधानी स्वरूप पन्छी, अण्डा र दानाहरू नष्ट गरिएको प्रवक्ता उपाध्यायले बताउनुभयो।
सङ्क्रमण नियन्त्रण र रोकथामका लागि विभागका उपमहानिर्देशकको कमाण्डमा ‘बर्डफ्लु रोग नियन्त्रणकक्ष’ स्थापना गरिएको छ। रोग देखिएका क्षेत्रहरूमा सङ्घीय मन्त्रालय, प्रादेशिक निकाय र स्थानीय तहहरूसँग प्रभावकारी रूपमा समन्वय गरी जैविक सुरक्षा सुदृढीकरण र नियन्त्रणको कार्य भइरहेको विभागले जनाएको छ।