सिराहामा प्रहरी र लागुऔषध कारोबारीबीच मुठभेड: भारतीय नागरिकलाई गोली प्रहार गरी पक्राउ
सिराहा, १९ असार । सिराहामा लागुऔषधको अन्तरदेशीय गिरोह र प्रहरीबीच मुठभेड भएको छ। लागुऔषध हेरोइन ओसारपसार गर्ने गिरोहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली प्रहार गरी एक भारतीय नागरिकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लाका ३५ वर्षीय अब्दुल कलाम रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँ, ब्यूरोको सिराहा शाखा र स्थानीय प्रहरीको संयुक्त टोलीले शुक्रबार यो अप्रेसन चलाएको हो।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (SP) दुर्गाराज रेग्मीका अनुसार कमालको समूहले प्रहरी टोलीलाई देख्नेबित्तिकै कटुवा पेस्तोलबाट एक राउण्ड फायर गरेको थियो। त्यसपछि प्रहरीले आत्मरक्षाका लागि सुरुमा दुई राउण्ड हवाई फायर गरी चेतावनी दिएको थियो।
“प्रहरीको चेतावनीलाई अटेर गरी पुनः पेस्तोल ताकेपछि हामीले उनको बायाँ खुट्टाको घुँडामुनि एक राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएका हौँ,” एसपी रेग्मीले भने। घाइते कमालको हाल प्रादेशिक अस्पताल सिराहामा उपचार भइरहेको छ।
प्रहरी अनुसन्धानका अनुसार कमालको समूहले भारतको लालबनियाँ नाका प्रयोग गरी नेपालको सिराहा र महोत्तरी हुँदै काठमाडौँ उपत्यकासम्म खैरो हेरोइन ओसारपसार गर्ने गरेको खुलेको छ। पक्राउ परेका कमालको साथबाट ११५ ग्राम २० मिलिग्राम हेरोइन र एक थान कटुवा पेस्तोल बरामद भएको छ।
मुठभेडका क्रममा गिरोहमा सहभागी अन्य तीन जना भने फरार हुन सफल भएका छन्। प्रहरीले सीमा नाका र सम्भावित लुक्ने स्थानहरूमा निगरानी बढाएको छ। “हामीले फरार तीनै जनाको पहिचान गरिसकेका छौँ, उनीहरूको खोजीका लागि विशेष टोली परिचालन गरिएको छ,” एसपी रेग्मीले जानकारी दिए।