तथ्यमा आधारित योजना निर्माण, कार्यवाहक प्रमुख डंगोलको प्राथमिकता : महानगर शोधवृत्तिका लागि उम्मेदवार छनोट सुरु
काठमाडौँ, असार २० । काठमाडौँ महानगरपालिकाका नीति, बजेट र योजनाहरूलाई वैज्ञानिक एवं तथ्यपरक बनाउने कार्यवाहक प्रमुख सुनिता डंगोलको विशेष प्राथमिकताअनुसार महानगरले अनुसन्धानका कार्यलाई तीव्रता दिएको छ । हचुवाका भरमा योजना बनाउने परम्परा अन्त्य गर्दै विज्ञहरूको शोध र तथ्यलाई आधार मान्ने डंगोलको सोचअनुरूप सहरी योजना आयोगले अहिले पाँचौँ संस्करणको ‘महानगर अनुसन्धान शोधवृत्ति’का लागि उम्मेदवारहरूको अन्तिम छनोट प्रक्रिया सुरु गरेको हो ।
गएको पुस १ गते आह्वान गरिएको प्रस्तावअनुसार १० वटा विशेष क्षेत्रमा अनुसन्धान गर्न इच्छुक ५५ जनामध्येबाट उत्कृष्ट १० शोधकर्ता छनोट गर्न अहिले प्रस्तुतिकरण र अन्तर्वार्ता सत्र सञ्चालन भइरहेको छ ।
अनुसन्धानबाटै नीति र बजेटलाई ‘इनपुट’
कार्यवाहक प्रमुख डंगोलले महानगरका हरेक गतिविधि र विकास निर्माणका काममा प्राज्ञिक पृष्ठपोषण हुनुपर्ने अडान राख्दै आउनुभएको छ । सोहीअनुरूप आयोगले यस वर्ष १० वटा महत्वपूर्ण क्षेत्रहरू— सहरी सुशासन, सांस्कृतिक विविधता, आर्थिक समृद्धि, नवप्रवर्तन, सहरी यातायात, वातावरण र जलवायु उत्थानशीलता, सामाजिक समावेशीकरण र तथ्याङ्कमा आधारित अनुगमन प्रणाली लगायतका विषयलाई शोधका लागि छनोट गरेको छ ।
‘महानगरले तर्जुमा गर्ने नीति र बजेट विनियोजन प्रक्रिया अब आवश्यकता र तथ्यमा आधारित हुनेछ ।’ आयोगको सचिवालयले कार्यवाहक प्रमुखको भिजनलाई उद्धृत गर्दै भनेको छ, ‘अनुसन्धानबाट प्राप्त निष्कर्षले महानगरलाई आधुनिक र व्यवस्थित बनाउन ठोस सहयोग पुर्याउनेछ ।’
कडा छनोट र विशेषज्ञको संलग्नता
यस वर्ष शोधवृत्तिका लागि २५ जना उम्मेदवार प्रारम्भिक छनोटमा परेका छन्, जसमध्येबाट १० जना छानिनेछन् । छनोट भएका शोधकर्ताले ६ महिनाको अवधिमा आफ्ना कार्य सम्पन्न गर्नुपर्नेछ । यसका लागि महानगरले प्रत्येक अनुसन्धातालाई १ लाख ५० हजार रुपैयाँ शोधवृत्ति उपलब्ध गराउनेछ ।
शोध कार्यको गुणस्तर सुनिश्चित गर्न सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीको अध्यक्षतामा डा. सुरजराज काफ्ले, पुरुषोत्तम महत तथा विज्ञ सदस्यहरू सुरेश आचार्य, अञ्जिता खड्गी र जगदीश्वरमान श्रेष्ठ सम्मिलित व्यवस्थापन तथा सञ्चालन समिति गठन गरिएको छ ।
विगतका सफल प्रयोग
यसअघिका संस्करणहरूमा पनि महानगरले महत्वपूर्ण विषयमा शोध गराइसकेको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलको विज्ञता र प्रविधिप्रतिको चासो अनुरूप नै गत वर्ष कृत्रिम बौद्धिकता प्रयोग गरी प्राचीन शिलालेखको लिपि नेपाल भाषामा उतार गर्ने, पार्किङको भौगोलिक नक्साङ्कन गर्ने र ल्याण्डफिल साइटको जनस्वास्थ्य प्रभाव अध्ययन गर्ने जस्ता कार्य सम्पन्न भइसकेका छन् ।
महानगरपालिकाले इतिहास, कला, संस्कृतिदेखि लिएर स्मार्ट सिटीका अवयवहरूसम्मका विषयमा विज्ञहरूको ज्ञानलाई उपयोग गर्दै काठमाडौँलाई एक उत्कृष्ट र बस्नयोग्य सहर बनाउने अभियानमा यस शोधवृत्तिलाई एउटा महत्त्वपूर्ण कडीका रूपमा लिएको छ ।