कङ्गोमा इबोला भाइरसको सङ्क्रमण समुदायस्तरमै फैलियाे, हालसम्म ४९२ जनाको मृत्यु

एजेन्सी, २१ असार । कङ्गोमा इबोला भाइरसको प्रकोप समुदायस्तरमा तीव्र रूपमा फैलिएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार हालसम्म सङ्क्रमितको सङ्ख्या १ हजार ५२८ पुगेको छ भने यस महामारीका कारण ज्यान गुमाउनेको सङ्ख्या ४९२ पुगेको छ।

कङ्गोको जनस्वास्थ्य विभागले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार हालसम्म २३९ जना सङ्क्रमित निको भई घर फर्किएका छन्। हाल ६२८ जना सङ्क्रमितको विभिन्न आइसोलेसन केन्द्र तथा अस्पतालहरूमा उपचार भइरहेको छ भने अन्य १८५ जना शङ्कास्पद बिरामीलाई निगरानीमा राखिएको छ।

प्रतिवेदनअनुसार पछिल्ला साताहरूमा नयाँ सङ्क्रमित थपिने दर निरन्तर बढिरहेको छ। महामारीको २५औँ र २६औँ सातामा मात्रै प्रतिसाता ३०० भन्दा बढी नयाँ सङ्क्रमण पुष्टि भएको छ। यसले भाइरस समुदायस्तरमा अझै सक्रिय रूपमा फैलिरहेको सङ्केत गरेको अधिकारीहरूले जनाएका छन्।

इबोला नियन्त्रणका लागि चालिएका कदमहरूमा विभिन्न व्यावहारिक र व्यवस्थापकीय चुनौतीहरू देखिएका छन्। मृतकको शवबाट नमुना सङ्कलन गर्ने कार्यमा स्थानीय समुदायबाट आवश्यक सहयोग प्राप्त नहुनु र उत्तर किभु क्षेत्रमा रहेका इबोला उपचार केन्द्रहरूको क्षमता सीमित हुनु यसका मुख्य कारण मानिएका छन्।

यसका साथै, सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान (कन्ट्याक्ट ट्रेसिङ) प्रभावकारी हुन नसक्नु, प्रयोगशाला परीक्षणमा ढिलाइ हुनु, आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको अभाव हुनु, र असुरक्षाका कारण प्रभावित कतिपय क्षेत्रमा स्वास्थ्यकर्मीको पहुँच पुग्न नसक्नुले पनि महामारी नियन्त्रणको प्रयासलाई प्रभावित बनाएको प्रतिवेदनमा उल्लेख छ।

यसैबीच, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले ‘बुन्डिबुग्यो’ प्रजातिको इबोला भाइरसविरुद्धको सम्भावित औषधिको प्रभावकारिता मूल्याङ्कन गर्न कङ्गोमा क्लिनिकल परीक्षण सुरु गरिएको जनाएको छ। हालसम्म यस प्रजातिको इबोलाका लागि कुनै स्वीकृत खोप वा विशिष्ट उपचार पद्धति उपलब्ध छैन।