पहिरो र बाढीका कारण जाजरकोट–डोल्पा र भेरी करिडोरसहित तीन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ, २३ असार । अविरल वर्षासँगै आएको पहिरो र बाढीका कारण जाजरकोट–डोल्पा सडक, रुकुम–घोराही सहिद मार्ग र भेरी करिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार यी मुख्य सडकखण्डहरूमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।

प्रवक्ता काफ्लेका अनुसार जाजरकोटको नलगाड नगरपालिका–८ मलुवामा खसेको पहिरोका कारण जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको हो। यसैगरी, असार २२ गते रोल्पाको माडी गाउँपालिका–६ हार्निङमा पहिरो जाँदा रुकुम–घोराही सहिद मार्ग पनि बन्द भएको छ।

यस्तै, गत असार १७ गते रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ स्थित रिजेगार्ड खोलामा आएको बाढीका कारण पूर्ण रूपमा अवरुद्ध बनेको भेरी करिडोर हालसम्म सञ्चालनमा आउन सकेको छैन। वर्षाका कारण अवरुद्ध भएका कतिपय अन्य राजमार्गहरू भने आंशिक तथा एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको र बाँकी बन्द सडकहरू सुचारु गराउने प्रयास भइरहेको प्रवक्ता काफ्लेले जानकारी दिए।

नेपाल प्रहरीले पूर्ण रूपमा अवरुद्ध भएका राजमार्गहरू सञ्चालन नहुँदासम्म यात्रा स्थगित गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, आंशिक रूपमा सञ्चालनमा आएका सडकहरूमा पनि पहिरो र हिलोको जोखिम रहने भएकाले विशेष सावधानी अपनाएर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।