पोखरा मुग्लिन सडक आयोजना : चौथो पटक थपियो म्याद, मङ्सिर १० भित्र काम सक्नुपर्ने

काठमाडौँ, असार २३ । पृथ्वी राजमार्ग अन्तर्गतको पोखरामुग्लिन सडक स्तरोन्नति आयोजना (पश्चिम खण्ड) को म्याद चौथो पटक थप गरिएको छ । तेस्रो पटक थपिएको समय सीमा असार १५ गते समाप्त भएपछि आयोजना सम्पन्न गर्न आगामी मङ्सिर १० गतेसम्मको नयाँ अन्तिम समय सीमा तोकिएको हो ।

मुग्लिन पोखरा सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख कृष्णबहादुर कुँबरले निर्माण कार्य अझै बाँकी रहेकाले पुनः म्याद थप गर्नु परेको जानकारी दिनुभयो। उहाँका अनुसार, यो पटक थप गरिएको समय अन्तिम हो र निर्माण कम्पनीले तोकिएकै अवधिभित्र काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सञ्चालित यस आयोजना अन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको ३८.७१ किलोमिटर सडक खण्ड पर्दछ। हालसम्म यस खण्डको भौतिक प्रगति ८२.३७ प्रतिशत पुगेको आयोजनाले जनाएको छ। सहरी क्षेत्रमा ६ लेन र पहाडी क्षेत्रमा ४ लेनमा विस्तार भइरहेको यस सडकको काम प्रतिकूल मौसम, इन्धन आपूर्तिमा देखिएको समस्या र निर्माण सामग्रीको मूल्यवृद्धिका कारण लक्ष्य अनुसार हुन नसकेको बताइएको छ ।

आयोजनाका सूचना अधिकारी अनन्त बरालका अनुसार, अब करिब १० किलोमिटर सर्भिस लेन निर्माण, ट्राफिक सुरक्षा सम्बन्धी संरचना, सडक मार्किङ, र ‘डब्लु बिम’ रोड सेफ्टी ब्यारियर जडान लगायतका कामहरू बाँकी छन्। विशेषगरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक विद्युतका पोल स्थानान्तरणमा ढिलाइ हुँदा सर्भिस लेन निर्माण कार्य प्रभावित भएको छ ।

चिनियाँ कम्पनी ‘अनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सन’ सँग ७ अर्ब ४० करोड रुपैयाँमा ठेक्का सम्झौता भई २०७८ भदौ १२ गतेदेखि यस खण्डको निर्माण कार्य सुरु गरिएको थियो। काठमाडौँ र पोखरालाई जोड्ने यो महत्त्वपूर्ण राजमार्गको स्तरोन्नति कार्य पटक-पटक म्याद थपिँदा सर्वसाधारणले भने सास्ती खेप्दै आएका छन् । मङ्सिरसम्ममा बाँकी काम सम्पन्न भएमा यात्रा थप सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ ।