तमोर नदीमा आकस्मिक आएकाे बाढीले जल्दै गरेको चिता बगायाे

धनकुटा, ३० असार । धनकुटाको प्रमुख अन्तिम संस्कार स्थल मूलघाटमा सोमबार आएको आकस्मिक बाढीले किनारमा जल्दै गरेको चिता बगाएकाे छ । तमोर नदीको जलस्तरमा भएको अप्रत्याशित वृद्धिका कारण किनारमा जल्दै गरेको चिता नदी बाढीले बगाएपछि दाहसंस्कारमा सहभागी मलामी र आफन्तहरूबीच केही बेर भागाभाग भएको थियो।

प्रत्यक्षदर्शी एवं त्रिवेणी माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक पोख्रेलका अनुसार, सोमबार दिउँसो मूलघाटमा चारवटा शवको दाहसंस्कार भइरहेको थियो। सोही क्रममा धनकुटा–६ आत्माराका गौरी रोक्काको चिता झण्डै ७५ प्रतिशत जलिसकेको अवस्थामा माथिल्लो तटीय क्षेत्रमा भएको भारी वर्षाका कारण नदीको बहाव अचानक बढ्न थाल्यो। “नदीको बहाव सामान्य देखेकै अवस्थामा चिता जलाइएको थियो, तर केही मिनेटमै पानीको सतह ह्वात्तै बढ्यो,” पोख्रेलले भन्नुभयो, “हेर्दाहेर्दै जल्दै गरेको चिता नदीको बीच भागमा पुग्यो र तलतिर बग्यो।” बाढीको वेगले अर्को एउटा चितालाई समेत पल्टाएपछि मलामीहरूले तत्काल शवलाई सुरक्षित स्थानमा सारेर माथिल्लो भागमा पुनः चिता निर्माण गरी दाहसंस्कार सम्पन्न गरेका थिए।

तमोर नदी किनारमा रहेको मूलघाट धनकुटाको मात्र नभई छिमेकी जिल्लाहरूको समेत मुख्य दाहसंस्कार स्थल हो। विश्रान्ति मन्दिर नजिकै रहेको यस क्षेत्रमा बर्सेनि बाढीले भौतिक क्षति पुर्‍याउँदै आएको छ। बाढीको जोखिम कम गर्न केही वर्षअघि डिजेलबाट चल्ने आधुनिक शवदाह गृह निर्माण गरिएको भए पनि विगतको बाढीले पुर्‍याएको क्षतिका कारण त्यो हाल सञ्चालनमा छैन।

बर्सेनि हुने यस्ता घटनाका बाबजुद नदीको सतहभन्दा सुरक्षित उचाइमा पक्की र सुरक्षित दाहसंस्कार प्लेटफर्म निर्माण नहुँदा मलामीहरूले जोखिम मोलेरै परम्परागत शैलीमा अन्त्येष्टि गर्नुपर्ने बाध्यता छ।