बाढी र पहिरोका कारण तीन राजमार्ग पूर्ण रूपमा अवरुद्ध, १८ वटा एकतर्फी रूपमा सञ्चालनमा

काठमाडौँ, ३० असार । देशका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण बुधबार मध्याह्नसम्म २१ वटा राष्ट्रिय राजमार्गहरू प्रभावित भएका छन्। सडक विभागको तथ्याङ्क अनुसार प्रभावित सडकमध्ये तीनवटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १८ वटा सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा रहेका छन्।

विभागका अनुसार कोशी राजमार्ग, कान्ति लोकपथ, मेची राजमार्ग र बुर्तीबाङ–ढोरपाटन राजमार्गको केही स्थान पहिरोका कारण अवरुद्ध भएको छ। सडक विभागका सूचना अधिकारी शुभाञ्जन दाहालले अवरुद्ध सडकहरूलाई पुनः सञ्चालनमा ल्याउन विभाग मातहतका स्थानीय डिभिजन कार्यालयहरूले पहिरो पन्छाउने कार्य गरिरहेको जानकारी दिए।

यसैबीच, जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा आज पनि भारी वर्षाको सम्भावना रहेकाले पहाडी तथा नदी किनारका क्षेत्रमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। लगातारको वर्षाले पहिरो र नदीहरूमा बहाव बढ्ने जोखिम उच्च रहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न गृह मन्त्रालयले सर्वसाधारणमा अनुरोध गरेको छ।