राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेटवार्ता, कतार प्रस्थान गर्दै
काठमाडौँ, ३० असार । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिष्टाचार भेटवार्ता गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार भएको भेटमा उपराष्ट्रपति यादवले आफ्नो आसन्न कतार भ्रमणका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएका छन्।
राष्ट्रपति कार्यालयका अनुसार उपराष्ट्रपति यादव बुधबार दिउँसो ३:३० बजे कतार प्रस्थान गर्ने कार्यक्रम रहेको छ। कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपालका तर्फबाट औपचारिक शोक समवेदना व्यक्त गर्न उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।
भ्रमणका क्रममा उपराष्ट्रपति यादवले कतारका अमिर शेख तमिम बिन हमद अल थानीलाई भेटेर राष्ट्रपति पौडेलको तर्फबाट पठाइएको शोक सन्देश हस्तान्तरण गर्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ।