टोखा नगरपालिकाद्वारा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’ सुरु, घर र सडक पहिचान गर्न सहज हुने

काठमाडौँ, ३० असार । काठमाडौँको टोखा नगरपालिकाले नगरभित्रका घर तथा भवनहरूलाई व्यवस्थित बनाउन र ठेगाना प्रणालीलाई प्रविधिमैत्री तुल्याउने उद्देश्यले ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’ को शुभारम्भ गरेको छ। नगरप्रमुख प्रकाश अधिकारीले सोमबार आयोजित एक कार्यक्रमका बीच यस नवीन डिजिटल प्रणालीको औपचारिक शुभारम्भ गरेका हुन्।

नगरपालिकाले यस प्रणालीलाई तत्कालका लागि वडा नं. ९ बाट सुरु गरेको छ र यसलाई क्रमशः सबै ११ वटै वडाहरूमा विस्तार गरिने जनाएको छ। सूचना शाखा प्रमुख वसन्त पाठकका अनुसार मेट्रिक ठेगाना प्रणालीमा कुनै पनि सडकको सुरु विन्दुबाट घर कति मिटरको दूरीमा अवस्थित छ, सोही दूरीका आधारमा वैज्ञानिक ढङ्गले घर नम्बर निर्धारण गरिन्छ। यसले गर्दा अपरिचित व्यक्ति वा सेवा प्रदायकलाई सम्बन्धित घर सजिलै फेला पार्न सहज हुनेछ।

यो प्रणाली लागू भएपछि आकस्मिक विपद्का समयमा एम्बुलेन्स, दमकल वा प्रहरीको सवारी साधन समयमै सम्बन्धित घरसम्म पुग्न सक्नेछन्। यसका साथै नगरपालिकाको घरनक्सा पास प्रक्रिया, आन्तरिक राजस्व सङ्कलन, तथ्याङ्क व्यवस्थापन, सामान डेलिभरी र सहरी सेवालाई थप चुस्त एवं प्रभावकारी बनाउन मद्दत पुग्ने नगरप्रमुख अधिकारीले बताए।

नगरपालिकाले विगत तीन वर्ष लगाएर गरेको प्राविधिक अध्ययन अनुसार टोखा क्षेत्रभित्र कुल २८ हजार ६४६ वटा भवन, २६ हजार ६१६ घर र २९६ किलोमिटर लम्बाइको सडक सञ्जालको नक्साङ्कन गरिएको छ। तीमध्ये पहिलो चरणमा १९ हजार घरहरूमा यो प्रणाली लागू गरिने नगरपालिकाले जनाएको छ।

टोखा नगरपालिका–९ का वडाध्यक्ष रामभक्त घिमिरेले टोखालाई प्रविधिको प्रयोगमार्फत आधुनिक र व्यवस्थित सहरको रूपमा स्थापित गर्न यो प्रणाली महत्त्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे।