चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द

काठमाडौँ, १२ साउन । नेपाल चिकित्सक सङ्घले देशभरका स्वास्थ्य संस्थाहरूमा आज (मङ्गलबार) आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र दुर्व्यवहारको विरोधमा सङ्घले देशभरका अस्पतालमा सेवा ठप्प पार्ने निर्णय गरेको हो ।

नारायणी अस्पतालको आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा. प्रमोद राम लगायतका स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण र अस्पतालमा तोडफोड भएपछि सङ्घ आन्दोलित भएको हो । सङ्घले उक्त घटनाका दोषीलाई तत्काल पक्राउ गरी ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ बमोजिम कडा कारबाही गर्न माग गरेको छ ।

सङ्घले पर्सा जिल्ला प्रशासन कार्यालयमा वार्ता भइरहेकै समयमा प्रहरी परिचालन गरी चिकित्सकहरूमाथि दुर्व्यवहार गरिएको भन्दै त्यसको घोर भर्त्सना गरेको छ । सङ्घले पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई समेत कारबाहीको दायरामा ल्याउन माग गरेको छ । आज हुने सर्वपक्षीय भेलाले आन्दोलनका थप कार्यक्रमहरू तय गर्ने सङ्घले जनाएको छ ।

आक्रमणबाट गम्भीर घाइते हुनुभएका डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सोमबार ट्रमा सेन्टर पुगी उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
मन्त्रालयले नारायणी अस्पतालको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कानुन हातमा लिएर हिंसात्मक गतिविधि गर्ने जोसुकैलाई पनि कानुनी कारबाही गर्न र स्वास्थ्य संस्थामा सुरक्षित वातावरण बनाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

नेपाल चिकित्सक सङ्घले आन्दोलनका कारण बिरामीहरूमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने स्पष्ट पारेको छ । सङ्घले चिकित्सकहरूको सुरक्षा ग्यारेन्टी नभएसम्म काममा फर्कन नसकिने अडान राख्दै आएको छ ।