साउनको अन्तिम दिन पशुपतिनाथ पुगिन् बलिउड अभिनेत्री पूजा चोपडा

काठमाडौँ, ३१ साउन । बलिउड अभिनेत्री पूजा चोपडाले आइतबार आराध्यदेव भगवान् पशुपतिनाथको दर्शन एवं विशेष पूजाआजा गरेकी छन् । साउन महिनाको अन्तिम दिन र शिवको प्रिय समय पारेर उनी पशुपतिनाथको थालीमा विशेष श्रद्धा प्रकट गर्न नेपाल आएकी हुन् ।

पशुपति क्षेत्र विकास कोषका अनुसार अभिनेत्री चोपडाले २ हजार १०० रुपैयाँको रसिद काटेर मन्दिरभित्र विधिवत् रूपमा विशेष पूजा, आराधना र दर्शन गरेकी हुन् । कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले अभिनेत्री चोपडासहित आज २३५ जनाले विशेष पूजाका लागि रसिद काटेको जानकारी दिए ।

सौरमास अनुसार आज साउनको अन्तिम दिन र सार्वजनिक बिदासमेत परेकाले पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको अत्यधिक घुइँचो लागेको छ । साउन महिनाभरि पशुपतिमा लाग्ने विशेष मेलाको आज अन्तिम दिन भएकाले पनि भक्तजनहरूको बाक्लो उपस्थिति रहेको हो ।

पछिल्लो समय भारतीय चलचित्र नगरी (बलिउड) का कलाकारहरू पशुपतिनाथ दर्शनका लागि आउने क्रम बढेको छ । पूजा चोपडाभन्दा ठिक एक हप्ताअघि मात्रै अर्की चर्चित बलिउड अभिनेत्री शिल्पा सेट्टीले पनि पशुपतिनाथ मन्दिर पुगेर रसिद काटी विशेष पूजाआजा गरेकी थिइन् ।