मनसुन थप सक्रिय: आज ५ प्रदेशमा ‘भारी वर्षा’को सम्भावना

काठमाडौँ, ३ भदौ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षा र केही क्षेत्रमा भारी वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकै आसपास रहेकाले देशभर मनसुनी गतिविधि जारी रहनेछ।

अहिले देशभर साधारणतया बदलीको अवस्था छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। पहाडी भू-भागका धेरै स्थान र तराईका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ। विशेष गरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

यस्तै, कोशी र मधेस प्रदेशका तराई क्षेत्रका केही स्थानमा आज हुरीबतास (हावाहुरी) चल्न सक्ने भएकाले सतर्क रहन महाशाखाले सूचित गरेको छ। हिमाली क्षेत्रका केही स्थानमा भने मध्यम वर्षासँगै हिमपातको समेत सम्भावना छ।

रातिको समयमा पनि देशभर बदलीकै अवस्था रहनेछ। कोशी र लुम्बिनी प्रदेशको तराईका केही स्थान तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। हिमाली र पहाडी भेगमा वर्षा र हिमपातको क्रम राति पनि जारी रहने देखिएको छ।