आइएफआरसीद्वारा १९ करोड सहयोग घोषणा, मानवीय सहायता जारी रहने महासचिव चापागाईको प्रतिबद्धता

काठमाडौँ, ११ भदौ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) ले भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार र राहतका लागि ठुलो आर्थिक सहयोगको घोषणा गरेको छ। तिब्बतबाट आएको बाढीले पुर्‍याएको क्षतिको पुनरुत्थानका लागि आइएफआरसीले तत्काल १८ करोड ९६ लाख २२ हजार रुपैयाँ (१२ लाख अमेरिकी डलर) सहयोग गर्ने भएको हो।

आइएफआरसीका अनुसार उक्त रकम बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, पुनःस्थापना र राहत वितरण कार्यमा खर्च गरिनेछ। रेडक्रसको स्वयंसेवक आपत्कालीन प्रतिकार्य टोली अहिले पनि प्रभावित क्षेत्रमा सक्रिय रहेको र स्थानीय निकायहरूसँग मिलेर राहत वितरणमा जुटिरहेको जनाइएको छ।

आइएफआरसीका महासचिव जगन चापागाईले सामाजिक सञ्जालमार्फत विपद् प्रतिकार्यलाई सुदृढ बनाउन र तत्काल मानवीय सहायता पुर्‍याउन यो सहयोग उपलब्ध गराइएको जानकारी दिनुभयो। “आइएफआरसी नेपाल रेडक्रस र अन्य राष्ट्रिय निकायहरूसँगको समन्वयमा आवश्यक पर्दा समुदायलाई थप सहयोग परिचालन गर्न तयार छ,” उहाँले भन्नुभएको छ, “मानवीय सहयोग निरन्तर जारी रहनेछ।”
महासचिव चापागाईले बाढीका कारण ठुलो सङ्ख्यामा मानवीय र भौतिक क्षति भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारजनप्रति हार्दिक समवेदना समेत प्रकट गर्नुभएको छ।

अहिले रेडक्रसका स्वयंसेवकहरू प्रभावित समुदायको बीचमा पुगेर प्रारम्भिक राहत, प्राथमिक उपचार र सुरक्षित स्थानमा स्थानान्तरण जस्ता कार्यमा अहोरात्र खटिरहेको आइएफआरसीले जनाएको छ।