भोटेकोशी बाढी : ३५९ को शव फेला, ९१० अझै बेपत्ता
काठमाडौँ, ११ भदौ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३५९ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार बाढीको बहावले बगाएर ल्याएका शवहरू विभिन्न आठ जिल्लामा फेला परेका हुन् ।
बाढीले बगाएर ल्याएका शवहरू नदीको तल्लो तटीय क्षेत्रमा फेला पर्ने क्रम जारी छ । प्राधिकरणका अनुसार जिल्लागत रूपमा फेला परेका शवको सङ्ख्या अनुसार चितवन : १३२ जना, नवलपरासी पूर्व : ८२ जना, धादिङ : ३३ जना, गोरखा : ३० जना, नुवाकोट : २८ जना, तनहुँ : २२ जना, रसुवा : १७ जना, नवलपरासी पश्चिम : १५ जना रहेकाे छ ।
बाढी प्रभावित क्षेत्रमा फसेकाहरूको उद्धारका लागि सरकारले ठुलो सङ्ख्यामा हेलिकप्टर परिचालन गरेको छ । आज मात्रै ६९ वटा हेलिकप्टर उडानमार्फत उद्धार र राहत कार्य गरिएको छ । हालसम्म ७९६ जनाको हेलिकप्टरबाट र ७५६ जनाको जमिनबाट गरी कुल १,५५२ जनाको जीवितै उद्धार गरिएको छ । हेलिकप्टरमार्फत उद्धार गरिएकामध्ये ५० जना विदेशी नागरिक रहेका छन् ।
विपद्का कारण अझै ९१० जना व्यक्तिको अवस्था अज्ञात रहेको छ । सम्पर्कविहीन हुनेहरूमा सुरक्षाकर्मी र सरकारी कर्मचारीको सङ्ख्या पनि उल्लेख्य छ ।
सुरक्षाकर्मी : २८ नेपाल प्रहरी, ४४ नेपाली सेना र १३ सशस्त्र प्रहरी ।
सरकारी कर्मचारी : १५ भन्सार कर्मचारी र ४ अध्यागमन कर्मचारी ।
स्थानीय : १६१ रसुवाका र १ नुवाकोटका बासिन्दा ।
पर्यटक : ५१७ विदेशी नागरिक र १२७ गैरआवासीय नेपाली ।
सरकारले बाढीबाट अति प्रभावित जिल्लाहरू रसुवा र नुवाकोटलाई तत्कालका लागि एक–एक करोड र धादिङलाई ५० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रभावित क्षेत्रमा १० ट्रक राहत सामग्री (चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस, ब्ल्याङ्केट) पठाइसकिएको छ । सञ्चार सम्पर्क विच्छेद भएका स्थानमा सञ्चार सेटहरू पठाइनुका साथै हेलिकप्टरमार्फत खाद्य सामग्री ढुवानी भइरहेको प्राधिकरणले जनाएको छ ।