भाेटेकाेशी बाढी : मृतकको सङ्ख्या १,११४ पुग्यो, ४ हजार अझै बेपत्ता

काठमाडौँ, १७ भदौ । गत भदौ १० गतेको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार ११४ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार बिहान ९:०० बजे सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार मृत्यु हुनेको सङ्ख्या ११ सय नाघेको हो ।

बाढीको तीव्र बहावले बगाएर ल्याएका शवहरू विभिन्न आठ जिल्लामा फेला परेका छन् । प्राधिकरणका अनुसार जिल्लागत रूपमा फेला परेका शवको सङ्ख्या अनुसार चितवन : ३४८ जना, नवलपरासी पूर्व : २१७ जना, नवलपरासी पश्चिम : १९० जना, नुवाकोट : १५५ जना, गोरखा : ६६ जना, धादिङ : ५९ जना, रसुवा : ४१ जना, तनहुँ : ३८ जना फेला परेका छन् ।

फेला परेका शवहरूमध्ये हालसम्म ९५ जनाको मात्र सनाखत भई आफन्तलाई बुझाइएको छ । बाँकी शवहरूको पहिचानका लागि डिएनए (DNA) नमुना सङ्कलन र फरेन्सिक परीक्षण भइरहेको छ ।

विपद्मा परी अझै ३ हजार ९१६ जना व्यक्तिहरू सम्पर्कविहीन रहेका छन् । बेपत्ता हुनेहरूमा सुरक्षाकर्मी, सरकारी कर्मचारी, जनप्रतिनिधि, विदेशी पर्यटक, स्थानीय बासिन्दा र जलविद्युत् आयोजनामा कार्यरत श्रमिकहरू रहेका छन् ।

हालसम्म कुल ११ हजार ९९३ जनाको सफल उद्धार गरिएको छ । नेपाली सेनाको हवाई उडानमार्फत मात्र ४ हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । बाढीमा परी घाइते भएका २१२ जनामध्ये १८२ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

खोज, उद्धार र सुरक्षाका लागि सरकारले २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरेको छ । जसमा नेपाली सेनाका ९,१९९, नेपाल प्रहरीका ७,९१२ र सशस्त्र प्रहरी बलका ४,२०३ जवानहरू कार्यक्षेत्रमा खटिएका छन् ।
विस्थापित भएका ३ हजार ४५३ व्यक्तिहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ । सबैभन्दा धेरै नुवाकोटमा २ हजार ४६६ जना आश्रित छन् ।