शव व्यवस्थापनका लागि भक्तपुर विकास सहयोग सङ्घको सहयोग : १०० थान ‘बडी ब्याग’ हस्तान्तरण
काठमाडौँ, १७ भदौ । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निम्त्याएको महाविपत्ति र मानवीय क्षतिलाई मध्यनजर गर्दै भक्तपुर विकास सहयोग सङ्घले शव व्यवस्थापनका लागि विशेष सहयोग उपलब्ध गराएको छ । सङ्घले ज्यान गुमाएका व्यक्तिहरूको मर्यादित व्यवस्थापनका लागि सोमबार १०० थान शव राख्ने व्याग हस्तान्तरण गरेको हो ।
सङ्घका अध्यक्ष राजु मृगेन्द्र जोशीको नेतृत्वमा गएको पदाधिकारीहरूको टोलीले काठमाडौँस्थित जिल्ला प्रशासन कार्यालय (सिडिओ कार्यालय) पुगेर उक्त सामग्री बुझाएको हो । बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनका लागि आवश्यक सामग्रीको अभाव खड्किएपछि सार्वजनिक रूपमा गरिएको सहयोगको आह्वानलाई सम्बोधन गर्दै सङ्घले यो पहल गरेको जनाएको छ ।
सामग्री हस्तान्तरण टोलीमा सङ्घका महासचिव प्रा. डा. माला मल्ल, सचिव राम सैंजु र कार्यकारिणी सदस्य किरण राज सुवेदीको सहभागिता रहेको थियो । आफ्ना सदस्य तथा शुभेच्छुकहरूबाट सङ्कलित सहयोगमार्फत यी ब्यागहरू खरिद गरिएको सङ्घले उल्लेख गरेको छ ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बुझाइएको उक्त सामग्री सोही दिन नै रसुवा जिल्ला प्रशासन कार्यालयले प्राप्त गरिसकेको जानकारी सङ्घलाई प्राप्त भएको छ ।
बाढीले पुर्याएको अपूरणीय क्षति र शोकको यस घडीमा सङ्घले आगामी दिनमा पनि प्रभावितहरूका लागि अन्य राहत सामग्रीहरू वितरण गर्ने तयारी गरिरहेको जनाएको छ । सङ्घले विपद्को समयमा सबै पक्षबाट हुने साना-ठुला सहयोगले राहत र व्यवस्थापन कार्यमा ठुलो बल पुग्ने विश्वास व्यक्त गरेको छ ।