सुन एकैदिन तोलामा ८ हजार ८०० ले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौँ, १७ भदौ । स्थानीय बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ८ हजार ८०० रुपैयाँले ओरालो लागेको हो ।

महासङ्घले आजका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँ निर्धारण गरेको छ । मङ्गलबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । साताको सुरुदेखि नै घट्ने क्रममा रहेको सुनको भाउमा आज आएको गिरावट पछिल्लो समयकै उच्च हो ।

यसै गरी, सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट देखिएको छ । चाँदी आज प्रतितोला १८५ रुपैयाँले घटेर ४ हजार ५८० रुपैयाँमा झरेको छ । मङ्गलबार चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।