साउदी अरबको गुफामा फेला परेका चितुवाका ‘ममी’: वैज्ञानिक खोजले खोल्यो पुन:स्थापनाको नयाँ बाटो
रियाद । साउदी अरबको एउटा मरुभूमिको गुफामा वैज्ञानिकहरूले सातवटा चितुवाका प्राकृतिक रूपमा ममी बनेका अवशेषहरू फेला पारेका छन्। यो अप्रत्याशित खोजले अरब प्रायद्वीपमा चितुवाको इतिहासलाई मात्र परिवर्तन गरिदिएको छैन, यसले सो क्षेत्रमा यो विरल प्रजातिलाई पुन: भित्र्याउने प्रयासमा समेत नयाँ आशा जगाएको छ।
साउदी अरबको ‘नेसनल सेन्टर फर वाइल्डलाईफ’का वैज्ञानिकहरूले सन् २०२२ र २०२३ मा उत्तरी सहर अरार नजिकैका पाँचवटा गुफामा यी अवशेषहरू फेला पारेका हुन्। फेला परेका अवशेषहरूमा चितुवाको नरम तन्तु र कङ्कालहरू निकै सुरक्षित अवस्थामा रहेका छन्।
डिएनए विश्लेषणमा चकित पार्ने तथ्य
अध्ययनका क्रममा तीनवटा ममीको डिएनए परीक्षण गर्दा वैज्ञानिकहरू अचम्ममा परेका छन्। लामो समयदेखि साउदी अरबमा केवल ‘एसियाली चितुवा’ मात्र पाइने विश्वास गरिँदै आएको थियो। तर, परीक्षण गरिएका दुईवटा पुराना अवशेषहरू उत्तर-पश्चिम अफ्रिकी चितुवाको प्रजातिसँग नजिक देखिएका छन्।
यसको अर्थ अरब प्रायद्वीपमा कुनै समय अफ्रिकी र एसियाली दुवै उप-प्रजातिका चितुवाहरू बस्ने गर्दथे। ‘कम्युनिकेसन अर्थ एण्ड इन्भायरमेन्ट’ जर्नलमा प्रकाशित रिपोर्ट अनुसार, यो खोजले अरब क्षेत्रलाई चितुवाका लागि अफ्रिका र एसिया जोड्ने एक महत्त्वपूर्ण ‘प्राकृतिक पुल’का रूपमा प्रमाणित गरिदिएको छ।
चितुवाको फरक व्यवहार र ममीकरण
वैज्ञानिकहरूका अनुसार चितुवाहरू गुफामा बस्नु आफैँमा एउटा असामान्य व्यवहार हो। नेसनल सेन्टर फर वाइल्डलाईफका उप-कार्यकारी प्रमुख अहमद अल बोग भन्छन्, “गुफामा चितुवाका ममी भेटिनु आफैँमा पहिलो घटना हो। मरुभूमिको अत्यधिक सुख्खा र गुफाको विशेष वातावरणले गर्दा यी शरीरहरू सड्न नपाई ममी बनेका हुन्।”
यी अवशेषहरूमध्ये सबैभन्दा पुरानो कङ्काल करिब ४,००० वर्ष पुरानो र सबैभन्दा कान्छो ममी करिब १०० वर्ष पुरानो भएको बताइएको छ। यसले साउदी अरबमा निकै पछिल्लो समयसम्म पनि चितुवाको अस्तित्व रहेको देखाउँछ। सन् १९७० को दशकतिर मात्र साउदी अरबबाट चितुवाहरू पूर्ण रूपमा लोप भएको मानिन्छ।
पुन:स्थापनाका लागि बलियो आधार
यो खोजले चितुवालाई फेरि साउदीको जङ्गलमा फर्काउने योजनामा वैज्ञानिकहरूलाई ठूलो सहयोग पुग्नेछ। पशु स्वास्थ्य विशेषज्ञ एड्रियन टर्डिफका अनुसार, यसअघि चितुवाहरू त्यहाँ केवल घुमन्तेका रूपमा मात्र आउने सोचे पनि ममीहरूमा साना बच्चा र वयस्क दुवै भेटिनुले उनीहरू त्यहीँ प्रजनन गर्ने र फस्टाउने गरेको पुष्टि भएको छ।
“अब हामीले साउदीको वातावरण अनुकूल हुने गरी कुन प्रजातिका चितुवाहरू ल्याउने भन्ने वैज्ञानिक आधार पाएका छौँ,” टर्डिफले भने।
अहिले साउदी अरबमा चितुवाको मुख्य शिकार मानिने मृग (Gazelles) हरूको संख्या बढिरहेको र ठूला संरक्षित क्षेत्रहरू निर्माण भएकाले चितुवा पुन:स्थापनाका लागि उपयुक्त वातावरण तयार भएको वैज्ञानिकहरूको दाबी छ।
चितुवा संरक्षण कोषकी संस्थापक लाउरी मार्करले भनिन्, “चितुवा जस्ता उच्च शिकारी जीवहरूले इकोसिस्टमलाई सन्तुलित राख्छन्। यो खोजले मरुभूमिको जैविक विविधतालाई फेरि जगाउन ठूलो मद्दत गर्नेछ।”
साउदी अरबले अब यी अवशेषहरूको थप अध्ययन गरी आफ्नो ‘रिवाइल्डिङ’ (Rewilding) परियोजनालाई अगाडि बढाउने लक्ष्य राखेको छ।(स्रोतः सीएनएन न्यूज)