रसुवा बाढीको आठौँ दिन : दुई जलविद्युत् आयोजनाको सुरुङमा खोजी कार्य स्थगित, अन्यमा प्रयास जारी
रसुवा, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङ भित्र फसेका कर्मचारी र कामदारहरूको अवस्था आठौँ दिनसम्म पनि अज्ञात रहेको छ । उद्धार टोलीले अहोरात्र प्रयास गरे पनि सुरुङभित्र जमेको लेदो, गेग्रान र पानीका कारण हालसम्म कुनै उपलब्धि हात लाग्न सकेको छैन ।
नेपाली सेनाको ६ नम्बर बाहिनीपति एवं ‘फरवार्ड जोइन्ट अप्रेसन सेल’ का कमान्डर सहायक रथी उज्ज्वलविक्रम राणाका अनुसार भौगोलिक विकटता र सुरुङको जटिल अवस्थाका कारण दुईवटा आयोजनामा खोजी कार्य तत्कालका लागि स्थगित गरिएको छ भने अन्य दुईवटामा प्रयास जारी राखिएको छ ।
रसुवागढी हाइड्रोपावरको सुरुङमा खोजी कार्य हाललाई पूर्ण रूपमा बन्द गरिएको छ । सुरुङको तीन तला मुनि रहेको टर्बाइन क्षेत्र पूरै पानी र लेदोले भरिएकाले त्यहाँ कोही पनि जीवित भेटिने सम्भावना नरहेको प्राविधिक निष्कर्षपछि यो निर्णय लिइएको हो । त्यसै गरी, लाङटाङको सुरुङमा उद्धार टोली ६४ मिटर भित्रसम्म पुगे पनि त्यसभन्दा अगाडि बढ्न सकेन । सुरुङभित्र दुई फिटको पनि खाली ठाउँ नभएकाले मानिस घस्रिएर समेत छिर्न नसक्ने अवस्था देखिएपछि टोली फर्किएको छ ।
चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा भने अझै पनि खोजी कार्य जारी छ । विदेशी विज्ञसहितको २६ जनाको टोली १५० मिटर भित्रसम्म पुगेको छ, तर त्यहाँ पनि भिरालो भाग र पहिरोका कारण अवरोध सिर्जना भएको छ । यता, अपर त्रिशूली-१ (२१६ मेगावाट) को सुरुङमा पाँच पटकसम्मको असफल प्रयासपछि बुधबार पुनः उद्धार टोली प्रवेश गरेको छ । यसअघि छातीसम्म आउने लेदोका कारण भित्र जान सकिएको थिएन ।
त्रिशूली-३ ‘ए’ को सुरुङको मुख (टनेल हेड) फेला परे पनि त्यहाँबाट अत्यधिक पानी बाहिर निस्किएकाले भित्र छिर्न असम्भव देखिएको छ । त्यसैले अहिले सुरुङको निकास तर्फबाट प्वाल पारेर भित्र छिर्ने प्रयास भइरहेको छ । त्रिशूली-३ ‘बी’ आयोजनाको कार्यालय र निवास क्षेत्र पहिचान गरी स्काभेटरमार्फत पहुँच मार्ग निर्माण गर्ने काम भइरहेको सेनाले जनाएको छ ।
उद्धार कमान्डर राणाका अनुसार सुरक्षाकर्मीहरूले अत्यन्तै जोखिमपूर्ण अवस्थामा खोजी कार्य गरिरहेका छन् । “सुरुङभित्रको अवस्था निकै भयावह छ, तैपनि हामीले सम्भावित ठाउँहरूमा कुनै कसर बाँकी राखेका छैनौँ,” उहाँले भन्नुभयो । बाढीले सुरुङका संरचनाहरू नै परिवर्तन गरिदिएकाले इन्जिनियरहरूको सल्लाहअनुसार मात्र उद्धार टोली अगाडि बढिरहेको छ ।
बेपत्ता भएका कर्मचारीका परिवारहरू यतिबेला निकै चिन्तित छन् भने सुरक्षा निकायले आधुनिक उपकरण र विज्ञहरूको सहयोगमा खोजी कार्यलाई निरन्तरता दिइरहेको छ ।