गुठी संस्थानको अध्यक्षमा संस्कृतिविद् डा. गोविन्द टण्डन नियुक्त
काठमाडौँ, १७ भदौ । सरकारले गुठी संस्थानको सञ्चालक समिति अध्यक्षमा विशिष्ट संस्कृतिविद् डा. गोविन्द टण्डनलाई नियुक्त गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले संस्थान ऐन, २०३३ बमोजिम आगामी तीन वर्षका लागि उहाँलाई सो पदमा नियुक्त गर्नुभएको हो।
नवनयुक्त अध्यक्ष डा. टण्डनले बुधबार नै संस्थानको केन्द्रीय कार्यालय पुगेर आफ्नो कार्यभार सम्हाल्नुभएको छ। पशुपति क्षेत्रको सांस्कृतिक अध्ययनमा विद्यावारिधि गर्नुभएका टण्डन गुठी परम्परा र इतिहासका ज्ञाता मानिनुहुन्छ। उहाँले यसअघि पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव र कोषाध्यक्षको रूपमा समेत अनुभव सम्हालिसक्नुभएको छ।
पदभार ग्रहणपछि रासससँग कुरा गर्दै डा. टण्डनले आफ्नो कार्यकालमा संस्थानलाई आधुनिक र चुस्त बनाउने कार्ययोजना सार्वजनिक गर्नुभयो। उहाँका मुख्य प्राथमिकताहरू यसप्रकार छन्:
ऐन परिमार्जन: वि.सं. २०३३ पछि संशोधन हुन नसकेको संस्थानको ऐनलाई वर्तमान आवश्यकताअनुसार परिमार्जन गर्ने।
अभिलेखको डिजिटाइजेसन: देशभर छरिएर रहेका गुठी जग्गा र मठ-मन्दिरको वास्तविक तथ्याङ्क सङ्कलन गरी डिजिटल प्रणालीमा अभिलेखीकरण गर्ने। रु. ३० अर्ब शोधभर्ना: विभिन्न समयमा रैकर गरिएका गुठी जग्गाबापत सरकारले संस्थानलाई दिन बाँकी रहेको करिब ३० अर्ब रुपैयाँ माग गरी मठ-मन्दिरको जीर्णोद्धारमा खर्च गर्ने। प्राविधिक जनशक्ति: इन्जिनियर र ओभरसियरहरूको थप दरबन्दी सिर्जना गरी सम्पदा पुनर्निर्माणलाई गति दिने।
अध्यक्ष डा. टण्डनले संस्थानबाट पाउने कुनै पनि सेवा र सुविधा नलिने घोषणा गरेर उदाहरण पेस गर्नुभएको छ। उहाँले आफ्नो पहिलो वर्षको सम्पूर्ण पारिश्रमिक तथा सुविधा हालैको भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार र राहतका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गर्ने जानकारी दिनुभयो। बाँकी दुई वर्षको सेवा-सुविधा पनि अन्य सामाजिक कार्यमा लगाउने उहाँको प्रतिबद्धता छ।