हङकङसँग १५ रनले हार्यो नेपाल, रनरेटका आधारमा बन्यो समूह विजेता

काठमाडौँ, २३ भदौ । मलेसियामा जारी एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ । हारका बाबजुद नेपाल रनरेटका आधारमा समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

समान ६–६ अङ्क भए पनि हङकङलाई नेट रनरेटमा पछि पार्दै नेपाल शीर्ष स्थानमा कायम रहेको हो । नेपालले यसअघि नै लगातार तीन खेल जितेर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो ।

जितका लागि हङकङले दिएको २६२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रन बनाउँदै अलआउट भयो । नेपालका लागि मध्यक्रमका ब्याटर ईशान पाण्डेले ९० रनको सानदार पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

ओपनर आसिफ शेखले ४४ रनको योगदान दिए भने दीपेन्द्र सिंह ऐरीले २५, करण केसीले २१ र गुलशन झाले २० रन जोडे । नेपाललाई रोक्न हङकङका अइजज खानले ४ विकेट लिए भने यसिम मुर्ताजाले २ विकेट हात पारे ।

यसअघि क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रनको योगफल तयार पारेको थियो । हङकङको जितमा बाबर हयातले शतकीय पारी खेले । उनले ११७ रन बनाउँदै अविजित रहे । यस्तै शाहिद वसिफले ४५ र एहसान खानले ३५ रन जोडे ।

बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा ४ विकेट लिए भने शेर मल्लले ३ विकेट झारे ।
प्रतियोगितामा नेपालको यो पहिलो हार हो । यसअघि नेपालले बहराइनलाई ७ विकेट, मलेसियालाई ६ विकेट र साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको थियो । समूह विजेताको रूपमा सेमिफाइनल पुगेको नेपालले अब फाइनल प्रवेशका लागि अर्को समूहको उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ ।