लामो समयको अन्तरालपछि चःमतिमा ‘नराँ पञ्चदान’,आज विधिपूर्वक समापन
काठमाडौं, भाद्र २४ । नेवाः बौद्ध समुदायको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व ‘पञ्चदान’ अन्तर्गत काठमाडौंको चःमतिमा लामो समयपछि निजीस्तरमा ‘नराँ पञ्चदान’ सम्पन्न भएको छ।
चःमति निवासी पूर्णकाजी ज्यापूको सक्रियता तथा स्थानीयको सहयोगमा आयोजना गरिएको पञ्चदानमा बुद्धाचार्य, वज्राचार्य तथा शाक्य समुदायका गुरुज्यूहरूले सहभागिता जनाउँदै दान ग्रहण गरेका थिए। लामो अन्तरालपछि आफ्नै टोलमा यस किसिमको धार्मिक अनुष्ठान आयोजना भएपछि स्थानीयमा समेत उत्साह देखिएको थियो।
पर्वको पूर्वसन्ध्यामा विधिपूर्वक पूजाआराधना गरी स्वयम्भू महाचैत्यमा रहेको श्री अमिताभ बुद्ध (तथागत) को मूल प्रतिमालाई बाजागाजासहित चःमतिस्थित नेवाः छेंमा रहेको दानशालामा ल्याएर विराजमान गराइएको थियो। गुँलागा त्रयोदशी अर्थात् भाद्र कृष्ण त्रयोदशीका दिन मनाइने नराँ पञ्चदानमा उक्त प्रतिमालाई विशेष रूपमा विराजमान गराएर दान गर्ने परम्परा रहेको छ।
मन्त्रसिद्धि महाविहार सबल बहालका गुरुजु नितेश वज्राचार्यका अनुसार पञ्चदान बौद्ध धर्मका दश पारमितामध्ये पहिलो ‘दान पारमिता’ पूरा गर्ने महत्वपूर्ण अवसर हो। उनका अनुसार यस दिन दान गर्दा चारै युगमा दान गरेसरह पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।
नराँ पञ्चदानमा चामल, धान, गहुँ, दाल तथा गेडागुडी, सियो–धागो, फलफूल, विभिन्न प्रकारका रोटी लगायत दैनिक जीवनमा आवश्यक वस्तुहरू दान गर्ने चलन छ। घर, जग्गा वा घोडा–हात्तीका आकृति प्रत्यक्ष रूपमा दान गर्न नसक्ने अवस्थामा आफ्नो क्षमता र श्रद्धाअनुसार दक्षिणा राखेर दान गर्ने परम्परा पनि रहेको वज्राचार्यले बताए।
उनका अनुसार गुँला महिनाभरि गरिने धार्मिक अनुष्ठान र दानशीलताले व्यक्तिमा परोपकारको भावना विकास गराउनुका साथै सामूहिक दानमार्फत समाजमा आपसी सद्भाव, भाइचारा र धार्मिक सहिष्णुता बलियो बनाउने भूमिका खेल्छ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको समेत विशेष सहभागिता रहेको थियो। लामो समयपछि चःमतिमा निजीस्तरमा पञ्चदान पुनः आयोजना भएकोमा खुसी व्यक्त गर्दै उनले आगामी दिनमा यस्ता मौलिक संस्कृति, परम्परा तथा सम्पदा संरक्षणका कार्यक्रमलाई काठमाडौं महानगरपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
आयोजक पूर्णकाजी ज्यापूले लामो अन्तरालपछि आफ्नो टोल तथा निवासमा पवित्र धार्मिक अनुष्ठान आयोजना गर्न पाउँदा खुसी र गौरवको अनुभूति भएको बताए। उनले भाद्र १० गतेको विनाशकारी बाढीमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतात्माको चिरशान्तिको कामनासहित कार्यक्रम आयोजना गरिएको बताए।
ज्यापूका अनुसार पुर्खाले हस्तान्तरण गरेको अमूल्य संस्कृति, परम्परा र धार्मिक अभ्यासको संरक्षण गर्दै भावी पुस्तासम्म पुर्याउनु नै नराँ पञ्चदान आयोजना गर्नुको मुख्य उद्देश्य हो।
नेपाल मण्डलमा पञ्चदानलाई दानधर्मसँगै सामाजिक तथा सांस्कृतिक एकताको पर्वका रूपमा समेत लिइन्छ। विशेषगरी नराँ पञ्चदानमा स्वयम्भू महाचैत्यबाट बुद्धको मूल प्रतिमा ल्याएर सामूहिक रूपमा दान गर्ने परम्पराले यसको धार्मिक तथा सांस्कृतिक महत्व अझ बढाएको छ।
यस वर्ष चःमतिमा आयोजित पञ्चदानमा विभिन्न स्थानबाट आएका बुद्धाचार्य, वज्राचार्य तथा शाक्य समुदायका गुरुज्यूहरूले दान ग्रहण गरेका थिए।
कार्यक्रमको समापनस्वरूप चःमतिमा विराजमान गराइएको श्री अमिताभ बुद्ध (तथागत) को मूल प्रतिमालाई आज साँझ विधिपूर्वक पूजाआराधना गरी बाजागाजा र भक्तजनको सहभागितामा पुनः स्वयम्भू महाचैत्यमा लगेर विराजमान गराइने आयोजकले जनाएको छ।
यसअघि विभिन्न समयमा मांशगलिमा दिलमाया महर्जन, कालिमाटीमा मान सिंह परिवार, झोछेंमा राम मानन्धरलगायतले नराँ पञ्चदान आयोजना गरेका थिए। पछिल्लो पटक पकनाजोलमा निजीस्तरमा आयोजना भएको यो परम्परा लामो समयपछि पुनः चःमतिमा निरन्तरता पाएको हो।