ग्यास अभावविरुद्ध विद्यार्थीको सांकेतिक विरोध, आरआर क्याम्पस गेटमै बालियो दाउराको चुलो
काठमाडौं, २५ भदौ । बजारमा व्याप्त ग्यास अभावको समस्या समाधानमा सरकारले प्रभावकारी पहल नगरेको भन्दै विद्यार्थीहरूले सांकेतिक विरोधस्वरूप रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसको गेटमै दाउरामा खाना पकाएका छन्।
अखिल (क्रान्तिकारी)मा आबद्ध विद्यार्थीहरूले बिहीबार क्याम्पस गेटमा दाउराको चुलो बालेर भात, गुन्द्रुक र आलु पकाई त्यहीं बसेर खाएका थिए।
बजारमा ग्यासको अभावले जनजीवन प्रभावित भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउन यस्तो विरोध प्रदर्शन गरेको विद्यार्थीहरूले बताएका छन्। उनीहरूका अनुसार ग्यास अभावका कारण कतिपय विद्यार्थी पढाइ छाडेरै ग्यासको लाइनमा बस्न बाध्य भएका छन् भने कतिपयलाई डेरामै खाना पकाउन समेत समस्या भइरहेको छ।
ग्यास नपाउँदा चाउचाउ र बिस्कुटकै भरमा बस्नुपरेको विद्यार्थीहरूको गुनासो छ। उनीहरूले तत्काल ग्यासको सहज आपूर्ति व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गरेका छन्।