कार्यवाहक प्रमुख डंगोलको अध्यक्षतामा काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, ६ रुटमा २८ बस चल्ने

काठमाडौं, २५ भदौ । काठमाडौं उपत्यकामा असोज ३ गतेदेखि रात्रिकालीन बस सेवा थप विस्तार हुने भएको छ। यस अन्तर्गत ६ वटा नयाँ रुटमा २८ वटा बसले सेवा दिनेछन्।

काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा रात्रिकालीन यातायात सेवा सञ्चालन हुने नगरपालिकाका प्रमुख, उपप्रमुख तथा साझेदार अधिकारीबीच सम्पन्न बैठकले यो निर्णय गरेको हो। संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि यो विस्तारित सेवा सुरु हुने कामपाले जनाएको छ।

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाले साझा यातायातसँगको समन्वयमा गत वैशाख १ गतेदेखि नै रात्रिकालीन बस सेवा सञ्चालन गर्दै आएका थिए। अब यसलाई विस्तार गर्दै उपत्यकाको उत्तर-दक्षिण र पूर्व-पश्चिम दुवै भाग जोड्ने गरी गोदावरीदेखि बुढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा, एअरपोर्टदेखि चन्द्रागिरीको नागढुंगासम्म ४ वटा, कीर्तिपुरदेखि काठमाडौंको नयाँ सडक हुँदै नेपाल वायुसेवा निगमसम्म ४ वटा र चक्रपथमा दुईतर्फी फन्को लगाउने गरी ८ वटा बस सञ्चालन हुनेछन्।

चक्रपथमा सेवा सुरु भएपछि एक ठाउँमा बस साटेर सेवा सञ्चालन भएका हरेक ठाउँमा पुग्न सकिनेछ। यसरी यात्रा गर्दा अधिकतम रु. ८० भाडा लाग्नेछ।

रात्रिकालीन बस सेवालाई विस्तार गर्दै निरन्तरता दिने निर्णयबारे कार्यवाहक प्रमुख डंगोलले भनिन्, “हामीले नाफा-घाटा जे भए पनि सेवालाई निरन्तरता दिने लक्ष्यका साथ तीन महिना परीक्षणस्वरूप सेवा सञ्चालन गर्‍यौं। यसको व्यवस्थापन र वित्तीय सुझावका लागि विज्ञहरूको कार्यदललाई जिम्मेवारी दिएका थियौं। अध्ययनले सेवाको निरन्तरताका लागि तीन विकल्प सुझाएको छ, जसमध्ये उपत्यकाका नगरपालिकाहरूको वित्तीय साझेदारीमा सेवा सञ्चालन गर्दा नै दिगो र सुरक्षित हुने देखिएको छ।”

बेलुका ८ बजेपछि भक्तपुर जाने सार्वजनिक यातायात पाउन निकै कठिन हुने गरेको बताउँदै डंगोलले यो समस्या समाधानका लागि कामपाले योजना बनाइरहेको जानकारी दिइन्। भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले “यसले काठमाडौं र ललितपुरसँग भक्तपुरको सम्बन्ध थप नजिक ल्याउने विश्वास छ” भन्दै सेवा विस्तारप्रति सकारात्मक प्रतिक्रिया दिइन्।

बैठकले रात्रिकालीन बस सेवा सञ्चालनको रुट परमिट प्रक्रिया सहज बनाउन विद्यमान यातायातसम्बन्धी कानुनमा समयसापेक्ष संशोधन गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय समेत गरेको छ।