ग्यास अभावको विवादसँगै मन्त्री गौरीकुमारी यादवको राजीनामा
काठमाडौं, २५ भदाै । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन्। उनले आज प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको यादवको सचिवालयले जनाएको छ।
पछिल्लो समय उपभोक्ताले ग्यास अभावको समस्या भोगिरहँदा उक्त समस्या समाधान नगरेको भन्दै मन्त्री यादवप्रति आलोचना बढ्दै गएको थियो।
हिजोमात्र संसदीय समिति बैठकमा उनले ग्यास अभावको दोष उद्योगीलाई थोपर्दै कर्मचारीले समेत आफूलाई साथ नदिएको गुनासो गरेकी थिइन्।
उद्योगीलाई पाता कस्ने र लाइसेन्स खारेज गर्नेसम्मको धम्की दिइसकेपछि व्यवसायीहरूले प्रधानमन्त्रीको कार्यालयमा समेत फोन गरी उक्त विवादास्पद अभिव्यक्ति फिर्ता नलिए सशक्त आन्दोलन थाल्ने चेतावनी दिएका थिए।
यतिबेला काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव छ। उपभोक्ताहरू एक सिलिन्डर ग्यास पाउन दिनरात लाइनमा बस्न बाध्य छन् भने पाइहाले पनि रु. २,०६० पर्ने ग्यासका लागि रु. ३,०००सम्म तिर्नुपरेको छ।