मुटुरोगको अत्याधुनिक उपचारका लागि नेपाली विदेश जान नपरोस् : डा. स्मृति शाक्य
डा. स्मृति शाक्य इजरायलको Sheba Medical Center मा Structural Cardiac Intervention विषयमा फेलोसिप पूरा गरी केही दिनअघि मात्र नेपाल फर्कनुभएको छ। उहाँ विगत करिब सात वर्षदेखि महाराजगञ्जस्थित टिचिङ अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा इन्टरभेन्सनल कार्डियोलोजिस्टका रूपमा कार्यरत हुनुहुन्छ।
विश्वमा विकसित हुँदै गएका मुटुसम्बन्धी नयाँ प्रविधि र अत्याधुनिक उपचार विधिबारे थप ज्ञान तथा सीप हासिल गरी नेपाल फर्कनुभएकी डा. शाक्यसँग फेलोसिपका क्रममा हासिल गर्नुभएको अनुभव, नयाँ उपचार प्रविधिको सम्भावना तथा नेपालमा यसको उपयोग र विस्तारका विषयमा मैत्री न्यूज टिमले गरेको विशेष कुराकानी यहाँ प्रस्तुत गरिएको छ।
प्रश्न : तपाई आजभोली के मा व्यस्त हुनुहुन्छ ?
उत्तर: म केही दिन अघि मात्र फेलोसिप सकाएर इजरायलबाट नेपाल फर्केको हुँ ।
प्रश्न : तपाई नेपालमै डीएम गर्नु भएको इन्टरभेन्सनल कार्डियोलोजिष्ट हुनु हुन्थ्यो त फेरि कुन विषयमा फेलोसिप गर्न जानु भयो ?
उत्तर : विश्वभर चिकित्सा क्षेत्रमा नयाँ–नयाँ प्रविधि र उपचार पद्धतिको तीव्र विकास भइरहेको छ। यस्तो अवस्थामा चिकित्सकका रूपमा आफूलाई समयअनुकूल अद्यावधिक गर्दै लैजानु र नयाँ प्रविधिको ज्ञान तथा सीप हासिल गर्नु हाम्रो जिम्मेवारी पनि हो। विशेषगरी नेपालजस्तो देशमा विश्वस्तरमा विकास भइरहेका अत्याधुनिक उपचार प्रविधि भित्र्याउन र नेपाली बिरामीलाई पनि त्यस्ता प्रविधिको लाभ दिलाउन हामी चिकित्सकहरूले निरन्तर सिक्दै र आफ्नो दक्षता अभिवृद्धि गर्दै जानुपर्छ।
यही क्रममा कार्डियोलोजीको क्षेत्रमा पनि पछिल्ला केही वर्षमा Structural Heart Disease तथा Structural Cardiac Intervention मा अत्याधुनिक प्रविधि र उपचार विधिको तीव्र विकास भइरहेको छ। विशेषगरी TAVI (Transcatheter Aortic Valve Implantation) लगायतका उपचार प्रविधिले हृदयसम्बन्धी केही जटिल रोगको उपचारमा नयाँ सम्भावना सिर्जना गरेको छ।
त्यसैले यी अत्याधुनिक प्रविधि र उपचार पद्धतिबारे थप विशेषज्ञ ज्ञान तथा व्यावहारिक सीप हासिल गर्ने उद्देश्यले मैले इजरायलको Sheba Medical Center मा Structural Cardiac Intervention विषयमा फेलोसिप गर्ने अवसर पाएँ। Sheba Medical Center विश्वस्तरमै प्रतिष्ठित र अत्याधुनिक चिकित्सा प्रविधिका लागि परिचित अस्पताल हो।
त्यहाँ फेलोसिपका क्रममा मैले TAVI, TEER लगायतका अत्याधुनिक cardiac intervention प्रविधिबारे थप गहिरो ज्ञान र व्यावहारिक अनुभव हासिल गर्ने अवसर पाएँ।
प्रश्न : स्ट्रक्चरल कार्डियाक इन्टरभेन्सन भनेको के हो त ?
उत्तर: सामान्य भाषामा भन्नुपर्दा, स्ट्रक्चरल कार्डियाक इन्टरभेन्सन (Structural Cardiac Intervention) भनेको मुटुको ठूलो शल्यक्रिया (Open-heart Surgery) नगरीकनै मुटुका भल्भ वा संरचनागत समस्याको उपचार गर्ने आधुनिक विधि हो।
उमेर ढल्किँदै जाँदा वा अन्य स्वास्थ्य समस्याका कारण मुटुका भल्भहरू साघुरिने (Stenosis) वा चुहिने (Regurgitation) जस्ता जटिलताहरू देखिन सक्छन्। धेरैजसो अवस्थामा उमेरका कारण, अन्य जटिल रोगहरू भएकाले, वा बढी जोखिम हुने भएकाले बिरामीहरू मुटुको चीरफार गरेर शल्यक्रिया गर्न सक्ने अवस्थामा हुँदैनन्।
यस्ता बिरामीहरूका लागि यो प्रविधि एकदमै प्रभावकारी र वरदान साबित भएको छ। यस विधिमार्फत छाती नचिरिकन, तिघ्राको नसामार्फत सानो पाइप (Catheter) पठाएर मुटुको बिग्रिएको भल्भ मर्मत गर्न वा नयाँ भल्भ फेर्न सकिन्छ।
छोटो शब्दमा भन्नुपर्दा— बिनाशल्यक्रिया मुटुको भल्भ तथा संरचनागत समस्याको सफल उपचार गर्ने विधि नै ‘स्ट्रक्चरल कार्डियाक इन्टरभेन्सन’ हो।
प्रश्न : इजरायलमा युद्ध भइरहेको समयमा तपाई आफ्नो जीवनलाई दाउमा राखेर किन त्यहीँ नै फेलोसिप गर्न जानु भयो ?
उत्तर: हो, त्यतिबेला त्यहाँ युद्धको अवस्था भएकाले जोखिम अवश्य थियो। इजरायलको Sheba Medical Center मा फेलोसिप गर्ने अवसर पाउनु भनेको हाम्रा लागि सौभाग्य हो । किनभने यो सेन्टर विश्वस्तरमै प्रतिष्ठित र अत्याधुनिक चिकित्सा प्रविधिका लागि परिचित world best hospital मा माथिल्लो rank को अस्पताल हो .।
तर यो फेलोसिप मेरो व्यक्तिगत करियर विकासका लागि मात्र थिएन। यसको मुख्य उद्देश्य नेपालमा पनि विश्वस्तरका नयाँ प्रविधि र उपचार पद्धति भित्र्याउन, नेपाली बिरामीलाई अत्याधुनिक उपचारको पहुँच दिलाउन र नेपालको कार्डियोलोजी सेवाको स्तरलाई अझ माथि उठाउन आफूले हासिल गरेको ज्ञान र सीपलाई प्रयोग गर्नु हो। त्यसैले देशका बिरामी र स्वास्थ्य क्षेत्रका लागि केही नयाँ योगदान गर्न सकिन्छ भन्ने यही सोच र हुटहुटीले गर्दा नै मैले आफ्नो व्यक्तिगत सुरक्षाभन्दा माथि उठेर, ठूलो जोखिम मोलेरै भए पनि फेलोसिप पूरा गर्ने निर्णय गरेकी हुँ।
प्रश्न : अब तपाईले आफूले सिकेर आउनु भएको थप विशेषज्ञताको शुरुवात कहिले देखि गर्नु हुन्छ त ?
उत्तर: नेपालमा अझै पनि धेरै मानिसलाई मुटुसम्बन्धी यस्ता अत्याधुनिक उपचार विधिबारे पर्याप्त जानकारी छैन। त्यसैले सबैभन्दा पहिले विश्वमा उपलब्ध अत्याधुनिक उपचार प्रविधि अब नेपालमै पनि सम्भव छ भन्ने जानकारी आम जनसमुदायसम्म पुर्याउनु आवश्यक छ।
त्यससँगै, यस्तो उपचारका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरण, प्रविधि र अन्य आवश्यक स्रोत–साधनको उचित व्यवस्थापन गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
अहिले म मनमोहन सेन्टरमा कार्यरत भएकाले, यहाँ यस्तो अत्याधुनिक उपचार सेवा सञ्चालन गर्न आवश्यक तयारी र व्यवस्थापनका लागि आफ्नो तर्फबाट पहल गर्नेछु।
र, अब यस्तो उपचार आवश्यक पर्ने बिरामीहरू मनमोहन सेन्टरमा आउनुभयो र उहाँहरूलाई यस उपचारको आवश्यकता तथा उपयुक्तता देखियो भने, उहाँहरूलाई विश्वस्तरीय उपचार नेपालमै उपलब्ध गराउने मेरो प्रयास हुनेछ।
प्रश्न : अब यो रोगलागेका विरामीहरु विदेश जानु पर्ने हुँदैन हो ?
उत्तर: मेरो चाहना भनेको नेपालीले अत्याधुनिक उपचार पाउनका लागि विदेश जानुपर्ने बाध्यता नहोस्र र विश्वमा उपलब्ध नयाँ प्रविधिको लाभ नेपालमै बसेर लिन सकून भन्ने हो । त्यसैले अब यस्तो उपचारको लागि भने विदेश जानु पर्ने बाध्यताको अवश्य पनि अन्त्य हुने छ ।