नेवार समुदायमा चथा पर्व मनाइँदै, गणेशलाई कृषि उपज चढाउने परम्परा

काभ्रेपलाञ्चाेक, २९ भदौ । नेवार समुदायले मौलिक तथा सांस्कृतिक पर्वका रूपमा भगवान् गणेशको विशेष पूजा-आराधना गरी आज चथा पर्व मनाउँदैछन्।

यस समुदायमा घर-आँगन, कौशी तथा पूजा स्थान सफा गरी परिवारका सबै सदस्य एकै ठाउँमा बसी विधिपूर्वक पूजाआजा गर्दै चथा पर्व मनाउने परम्परा रहेको छ। उक्त पूजामा गणेशलाई विभिन्न प्रकारका फलफूल, तरकारी, अन्न तथा गेडागुडी चढाउने गरिँदै आएको छ। पूजाका लागि अदुवाको बोट, स्याउ, मौसमी, अम्बा, काँक्रो, मुला, मकै, भटमास, चना, गहुँ, केराउ, बकुला, आरुको बीयाँ र फर्सीको बीयाँलगायतका सामग्री राख्ने परम्परा छ। घरमा उपलब्ध विभिन्न कृषि उपज तथा फलफूल नै पूजा सामग्रीका रूपमा प्रयोग गरिने गरिन्छ।

चथा पर्वमा प्रयोग गरिने फलफूल, अन्न तथा गेडागुडीले कृषि, प्रकृति र मानव जीवनबीचको अन्तरसम्बन्धलाई झल्काउने जनविश्वास रहेको छ। इन्द्रेश्वर महादेवका पुजारी शिवप्रसाद जंगमका अनुसार वर्षभरि प्राप्त हुने नयाँ कृषि उत्पादन तथा प्राकृतिक उपजप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने उद्देश्यले नै चथा पूजा गर्ने परम्परा बसेको हो।

चथा पर्वसँग चन्द्रमासम्बन्धी विशेष धार्मिक विश्वास पनि जोडिएको छ। यस दिन चन्द्रमा हेर्न नहुने जनविश्वास रहेको छ। चन्द्रमा हेरेमा झुटो आरोप वा अपवाद लाग्न सक्ने परम्परागत मान्यता रहेकाले पूजा गर्दा समेत आकाशतर्फ नहेर्ने चलन रहिआएको छ।