अब एकदिवसीय मान्यता जोगाउन नेपाललाई चुनौती

काठमाडौँ,  भदौ ३१ ।  एसिसी प्रिमियर कपको उपाधि जित्दै दोस्रोपटक एसिया कपमा स्थान बनाएको नेपाली क्रिकेट टोलीसामु अब आइसिसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै एकदिवसीय अन्तरराष्ट्रिय मान्यता जोगाउने चुनौती छ ।

लिग-२ को जारी चक्रमा खराब प्रदर्शन गरेपछि नेपाल क्रिकेट सङ्घ (क्यान)ले गत साउनमा रोहितकुमार पौडेललाई कप्तानीबाट हटाएर सन्दीप लामिछानेलाई एकदिवसीय टोलीको नेतृत्वको जिम्मेवारी दिएको थियो। कप्तानीमा पुनरागमन गरेसँगै लामिछानेले व्यक्तिगत प्रदर्शनसँगै टोलीको नेतृत्वमा समेत प्रभावकारी भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

कप्तान नियुक्त भएपछि लामिछानेसामु पहिलो ठूलो चुनौती एसिया कपमा छनोट हुनु थियो । नयाँ तथा अनुभवी खेलाडी सम्मिलित टोलीको व्यवस्थापन गर्दै उहाँले एसिसी प्रिमियर कपमा प्रभावशाली प्रदर्शन गर्नुभयो । प्रतियोगिताका छ खेलमध्ये नेपालले पाँचमा जित र एकमा पराजय भोग्दै समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।

सेमिफाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको नेपालले युनाइटेड अरब इमिरेट्स (युएई)लाई ४४ रनले पराजित गर्दै उपाधि जित्यो। यससँगै नेपालले दोस्रोपटक एसिया कपमा स्थान सुरक्षित गर्‍यो ।

प्रतियोगितामा कप्तान लामिछानेको प्रदर्शन पनि उल्लेखनीय रह्यो। उहाँले छ खेलमा २.९८ को इकोनोमी रेटमा सर्वाधिक १७ विकेट लिनुभयो। टोलीको सफलतामा निर्णायक भूमिका खेलेका लामिछाने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँले सन् २०२३ को संस्करणमा पनि सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गर्नुभएको थियो ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी दीपेन्द्र चौधरीले एसिसी प्रिमियर कपमा नेपालको सफलताले लामिछानेको कप्तानी प्रभावकारी देखिएको बताउनुभयो ।

“एसिसी प्रिमियर कपमा नेपालको नतिजा कप्तानमा सन्दीप सफल देखिएको प्रमाण हो। उहाँले जुन प्रकारले टोलीको नेतृत्व गरिरहनुभएको छ, त्यसले अरू खेलाडीलाई पनि मद्दत पुगिरहेको छ,” चौधरीले रासससँग भन्नुभयो, “प्रतियोगितामा सन्दीपले बलरको सही सदुपयोग गर्नुभयो। टोलीमा धेरै नयाँ खेलाडी हुँदा पनि उहाँको कप्तानी उत्कृष्ट रह्यो ।”

चौधरीका अनुसार लामिछानेको कप्तानीसँगै अन्य खेलाडीको प्रदर्शन पनि नेपालको सफलताको महत्वपूर्ण आधार बनेको थियो । बसिर अहमद, करण केसी, गुलशन झा, आसिफ शेख र अर्जुन कुमाललगायत खेलाडीको प्रदर्शनले उपाधि जित्न महत्वपूर्ण योगदान गरेको उहाँले बताउनुभयो ।

अब भने नेपालको ध्यान विश्वकप लिग-२ को अन्तिम शृङ्खलातर्फ केन्द्रित भएको छ। उक्त शृङ्खलामा नेपालले ओमान र क्यानडासँग प्रतिस्पर्धा गर्नेछ। एकदिवसीय अन्तरराष्ट्रिय मान्यता कायम राख्न नेपालले लिग-२ को तालिकामा शीर्ष छभित्र स्थान बनाउनुपर्नेछ ।

चौधरीले ओमान र क्यानडाको पछिल्लो प्रदर्शनलाई ध्यानमा राख्दा नेपालले आगामी शृङ्खलामा राम्रो नतिजा निकाल्ने अवसर रहेको बताउनुभयो। एसिसी प्रिमियर कपको सफलताले नेपाली टोलीको आत्मविश्वाससमेत बढेको उहाँको भनाइ छ ।

लिग–२ को ताजा तालिकामा नेपाल सातौँ स्थानमा छ। नेपालले ३२ खेलबाट ११ जित, १९ हार र दुई खेलमा अङ्क बाँड्दै २४ अङ्क जोडेको छ। शीर्ष छभित्र पर्न नेपालले बाँकी खेलमा आवश्यक अङ्क हासिल गर्नुपर्ने अवस्था छ ।

नेपालले लिग-२ को अन्तिम शृङ्खला आगामी अक्टोबरमा खेल्ने तालिका छ। उक्त शृङ्खलाको प्रदर्शनले नेपालको एकदिवसीय अन्तरराष्ट्रिय मान्यता कायम रहने वा नरहने विषयमा महत्वपूर्ण भूमिका खेल्नेछ ।