म्याग्दीमा बालविवाहको जगजगी: १४ वर्षमै आमा, अनिच्छुक गर्भधारण गर्न बाध्य किशोरी

म्याग्दी, ३१ भदौ । बालविवाहका कारण शारीरिक तथा मानसिक रूपमा परिपक्व नहुँदै गर्भवती हुने र आमा बन्नुपर्ने अवस्था म्याग्दीमा देखिएको छ। जिल्लामा गत आर्थिक वर्ष सुत्केरी भएकामध्ये झन्डै पाँच जनामा एक जना २० वर्षमुनिका रहेका छन् भने एक किशोरीले त १४ वर्षमै आमा बन्नुपरेको छ।

प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा सुत्केरी भएकामध्ये करिब २० प्रतिशत २० वर्षमुनिका छन्। कार्यालयका सूचना अधिकारी गणेश सुवेदीका अनुसार कुल ५८५ जना सुत्केरी भएकामा ११६ जना अर्थात् १९.८२ प्रतिशत २० वर्षमुनिका रहेका छन्।

“छ जना घरमै सुत्केरी भएका हुन्,” सुवेदीले भने, “गत वर्ष सुरक्षित गर्भपतन सेवा लिएका ७९० जनामध्ये ५.७५ प्रतिशत अर्थात् ४३ जना २० वर्षमुनिका छन्।” आव २०८१/८२ मा सुत्केरी भएका र सुरक्षित गर्भपतन सेवा लिएका एक हजार ३८४ जनामध्ये १३.७२ प्रतिशत अर्थात् १९० जना २० वर्षमुनिका थिए। यस्तै २०८०/८१ मा २० वर्षमुनिका १६१ जना सुत्केरी हुँदा सोही उमेर समूहका २९ जना किशोरी तथा युवतीले सुरक्षित गर्भपतन सेवा लिएका थिए।

विसं २०७८ को जनगणनाअनुसार जिल्लामा प्रजननयोग्य उमेर समूहका महिलाको सङ्ख्या २१ हजार १८३ छ। जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार जिल्लाका ४७ प्रतिशत दम्पतीले मात्र परिवार योजनाका साधन प्रयोग गर्छन्।

मेलाजात्रा र सामाजिक सञ्जाल प्रमुख कारण
म्याग्दी बहुमुखी क्याम्पसका उपप्राध्यापक रेखाकौशल रेग्मीका अनुसार समाजमा शैली फेरिए पनि बालविवाह कायमै रहेको यो तथ्याङ्कले पुष्टि गर्छ। बालविवाह, असुरक्षित र अनिच्छुक गर्भधारणको प्रमुख कारण मेलाजात्रा भएको उनको भनाइ छ।

“सामाजिक सञ्जाल, गरिबी, अभिभावकको निगरानी नहुनु, असल अभिभावकत्व र संरक्षण नपाउनु, भावनात्मक बन्धनमा परेर किशोरीहरू बालविवाह गर्न र अनिच्छुक गर्भधारण गर्न बाध्य भएको देखिन्छ,” उनले भने।

१४ वर्षमै आमा बनेकी किशोरी
प्रदेश अस्पताल बेनीका प्रमुख चिकित्सक डा. हेमन्त बास्तोलाका अनुसार गत आवमा सुत्केरी भएकामध्ये एक जना १४ वर्षमै आमा बनेकी थिइन्। पन्ध्र वर्षका तीन जना, १६ वर्षका चार जना, १७ वर्षका १० जना र १८ वर्षका २२ जनाले गत आवमा प्रदेश अस्पताल बेनीबाट प्रसूति सेवा लिएका छन्।

“बालविवाह, विद्यालय छाड्ने अवस्था, गरिबी, सामाजिक दबाब, लैङ्गिक असमानता तथा किशोरकिशोरीमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञानको कमीजस्ता समस्या एकसाथ जोडिएका छन्,” डा. बास्तोलाले भने, “शरीर पूर्ण रूपमा परिपक्व नभइसकेका कारण गर्भावस्था र प्रसूतिको समयमा जटिलता निम्तिन सक्ने जोखिम हुन्छ।”

प्रदेश अस्पताल बेनीको अभिलेखअनुसार पछिल्लो १४ महिनामा सुत्केरी हुन आएका २० वर्षमुनिका किशोरीमध्ये ५२ जना अर्थात् ६८.४ प्रतिशत दलित समुदायका छन्। जनजाति समुदायका १७ जना र ब्राह्मण/क्षेत्री समुदायका सात जना रहेका छन्।

विद्यालय तहकै पढाइ पूरा नहुँदै किशोरी, युवती आमा र गर्भवती हुँदा उच्च शिक्षा र रोजगारीको अवसरबाट वञ्चित हुनुपर्ने र सामाजिक रूपमा पछि पर्नुपर्ने उपप्राध्यापक रेग्मीको भनाइ छ। बीस वर्षभन्दा कम उमेरमा विवाह दर्ता नहुने र विवाह दर्ता नभई जन्मदर्ता नहुने भएकाले बालबालिकालाई विद्यालय भर्ना गर्न, राज्यका सेवा सुविधा उपभोग गर्न र अन्य सरकारी कागजात बनाउन समेत समस्या भइरहेको छ।

उमेर नपुगी विवाह गरेका दम्पतीले जिम्मेवारी पूरा गर्न नसक्ने र पारिवारिक विचलन आउने गरेको छ। बालविवाह रोकथामका लागि कानुनी सचेतना मात्र पर्याप्त नभई विद्यालयमा किशोरीको निरन्तरता, परिवारको आर्थिक अवस्था सुधार, किशोरकिशोरीमैत्री यौन तथा प्रजनन स्वास्थ्य शिक्षा र जोखिममा रहेका बालबालिकाको पहिचान तथा संरक्षणलाई प्रभावकारी बनाउनुपर्ने चिकित्सक बास्तोलाको सुझाव छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *