इन्द्रजात्रामा काठमाडौँका स्थानीयले बजाउन छोडेको म्वाली बाजा बजाउने कलाकार उत्पादन गर्दै कार्यवाहक प्रमुख

काठमाडौँ, ३१ भदौ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले करिब २५ वर्षदेखि काठमाडौँका स्थानीयले बजाउन छोडेको म्वाली बाजालाई इन्द्रजात्रामा पुनःस्थापित गर्न स्थानीय कलाकार उत्पादनको तयारी थाल्नुभएको छ । महानगरपालिकाले स्थानीय युवालाई म्वाली बाजा बजाउन प्रशिक्षण दिन थालेको र यस वर्षको येँया (इन्द्रजात्रा) मा उनीहरूबाटै बाजा बजाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

येँया ११४६ (इन्द्रजात्रा पर्व २०८३) व्यवस्थापनका लागि महानगरपालिकामा आयोजित तयारी बैठकमा कार्यवाहक प्रमुख डंगोलले जात्रासँग जोडिएका मौलिक तथा लोपोन्मुख संस्कारलाई पुनःस्थापित गर्दै लैजाने महानगरपालिकाको नीति रहेको बताउनुभयो । उहाँले म्वाली बाजाको संरक्षणसँगै नयाँ पुस्तालाई परम्परागत बाजा बजाउने सीप हस्तान्तरण गर्न प्रशिक्षण सञ्चालन गरिएको जानकारी दिनुभयो ।

“विगत करिब २५ वर्षदेखि स्थानीयबाट बजाउन छोडिएको म्वाली बाजा यसपटक काठमाडौँका स्थानीयले बजाउने प्रबन्धका लागि प्रशिक्षण चलाइरहेका छौँ,” उहाँले भन्नुभयो ।

कार्यवाहक प्रमुख डंगोलले जात्रा सुरु हुनुअघि कुमारी घरको छानो जीर्णोद्धार सम्पन्न गर्न निर्देशन दिँदै श्रीगणेश र श्रीभैरवको निवासका लागि यसै वर्ष शिलान्यास गरी आगामी इन्द्रजात्रादेखि एउटै परिसरबाट रथयात्रा प्रारम्भ गर्ने गरी पूर्वाधार निर्माणको तयारी भइरहेको जानकारी दिनुभयो । जात्रा व्यवस्थापनमा गुठियार, स्थानीय समुदाय, सुरक्षा निकाय, स्वयंसेवक तथा सम्बन्धित सङ्घसंस्थाबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो ।

उहाँले जात्रा अवधिमा स्वयंसेवकका लागि खाजा तथा पानीको व्यवस्था, आकस्मिक स्वास्थ्योपचारका लागि एम्बुलेन्स तथा प्रभावकारी सुरक्षा प्रबन्ध गरिने बताउनुभयो । जात्रा व्यवस्थापनमा महानगर स्काउटको नेतृत्वदायी भूमिका रहने अपेक्षा पनि उहाँले व्यक्त गर्नुभयो ।

बैठकमा कार्यवाहक प्रमुख डंगोलले इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तम शाक्यलाई येँया २०८२ मा भएको खर्चबापत  २८ लाख ७१ हजार रुपियाँको चेक हस्तान्तरण गर्नुभयो । समितिका अध्यक्ष शाक्यले गत वर्षका गतिविधि तथा यस वर्षको जात्रा तालिकाबारे जानकारी गराउँदै बाहिरी व्यवस्थापनका लागि महानगरपालिकाबाट थप रु सात लाख ५० हजार अपेक्षा गरिएको बताउनुभयो ।

यस वर्ष येँयाका लागि भदौ २५ गते बिहान ९ः४३ बजे मानन्धर समुदायबाट यँसि लिन वन प्रस्थान गरिएको थियो । सोही दिन बेलुका ४ः४७ बजे यँसिका लागि वृक्ष कटान गरिएको थियो । हाल भोटाहिटीमा राखिएको यँसि आश्विन ३ गते शनिबार बिहान ५ः०५ बजेको साइतमा नगर प्रवेश गराइनेछ । आश्विन ७ गते बुधबार बिहान ७ः४७ बजे यँसि उठाउने अर्थात् इन्द्रध्वजोत्थान गरिनेछ ।

इन्द्रजात्राको मुख्य रथयात्रा आश्विन ९ गते शुक्रबारदेखि सुरु हुनेछ । पहिलो दिन कुमारी, गणेश र भैरवको रथ तल्लो टोलतर्फ तथा आश्विन १० गते माथिल्लो टोलमा रथयात्रा हुनेछ । आश्विन १३ गते नानीचायाका दिन किलागः हुँदै नगर परिक्रमा गराइनेछ । जात्राका क्रममा लाखे आजु, पुलुकिसी, हलचोक आकाश भैरव, देवी नाच, महाकाली नाच र दश अवतार प्रदर्शनलगायत सांस्कृतिक गतिविधि सञ्चालन हुने व्यवस्थापन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *