चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटियाे

रसुवा, ३१ भदौ । चिलिमे जलविद्युत् केन्द्रको सुरुङ उत्खननका क्रममा विद्युत् गृह क्षेत्रबाट आज तीन वटा सग्लो शव र एउटा मानव अङ्ग फेला परेको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार नेपाली सेनाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी बल र नेपाल विद्युत् प्राधिकरणको जनशक्तिसहित भारतीय सेना सम्मिलित खोज तथा उद्धार टोलीले केन्द्रको विद्युत् गृह क्षेत्रबाट यी शव फेला पारेको हो।

उनका अनुसार भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीले सो जलविद्युत् केन्द्रको हाताभित्र रहेका भवन तथा पर्खाल समेत बगाएको र सुरुङ बन्द भएको प्रतिकूल अवस्थामा नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले ती शव फेला पारेको हो।

केन्द्रका वरिष्ठ सहायक कमलबहादुर खरेलका अनुसार बाढी गएको दिन उक्त जलविद्युत् केन्द्रको बिहानी सिफ्टमा एक इन्जिनियर, दुई सुपरभाइजर, दुई चौकीदार र एक कार्यालय सहयोगीसमेत गरी छ जना कर्मचारी कार्यरत थिए। प्रजिअ पाण्डेका अनुसार नेपाली सेनाले सुरुङभित्र यथाशक्य छिटो प्रवेश गरी जलविद्युत् केन्द्रभित्र फसेका कर्मचारीको उद्धार कार्यलाई सहयोग पुर्‍याउन सदरमुकाम धुन्चेमा एउटा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ।

यसैगरी खोज तथा उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले अप्पर त्रिशूली जलविद्युत् आयोजना–१ को अडिट टनेलभित्रबाट आजै पाँच जनाको शव फेला पारेको छ। प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार उत्तरगया–१ दलदुङ खोलाको ८०० मिटरभित्रको सुरुङमा पहिचान खुल्न नसकेको अवस्थामा ती शव फेला परेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *