जनस्वास्थ्यप्रति संवेदनशील कार्यवाहक प्रमुख डंगोल : सामुदायिक विद्यालय, स्वास्थ्य प्रवर्धन केन्द्र र वडा कार्यालयको पिउने पानीको गुणस्तर परीक्षण गराउँदै
पिउने पानीको गुणस्तर परीक्षण
काठमाडौँ, असोज २ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलको पहलमा महानगर क्षेत्रभित्रका सामुदायिक विद्यालय, स्वास्थ्य प्रवर्धन केन्द्र तथा वडा कार्यालयमा प्रयोग हुने पिउने पानीको गुणस्तर परीक्षण गरिने भएको छ । बालबालिका, शिक्षक तथा कर्मचारी, स्वास्थ्य संस्था आउने सेवाग्राही र प्रशासनिक सेवा लिन आउने नागरिकलाई सुरक्षित पिउने पानी उपलब्ध गराउने उद्देश्यले महानगरपालिकाले पानीको प्रयोगशाला परीक्षणसहित नियमित निगरानीको कार्यक्रम अघि बढाएको हो ।
महानगरपालिकाको स्वास्थ्य विभागले पानीको नमूना सङ्कलन तथा परीक्षणका लागि जनप्रतिनिधि, वडा सचिव, विद्यालय नर्स, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका तथा पानीका उत्पादक र वितरकलाई अभिमुखीकरण दिन थालेको छ । वडा नं. १ बाट सुरु गरिएको अभिमुखीकरण क्रमशः सबै वडाका लक्षित व्यक्तिलाई प्रदान गरिने महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाको स्वास्थ्य विभागअन्तर्गत समुदाय, स्वास्थ्य संस्था तथा विद्यालयमा पानी स्वच्छता कार्यक्रमकी फोकल पर्सन राधिका कुइँकेलले तालिम प्राप्त व्यक्तिबाट पानीको नमूना सङ्कलन गराई प्रयोगशाला परीक्षण गरिने बताउनुभयो । परीक्षणबाट प्राप्त नतिजाका आधारमा पानीको गुणस्तर सुधार तथा कायम राख्ने कार्यक्रम सञ्चालन गर्ने महानगरपालिकाको योजना रहेको उहाँले जानकारी दिनुभयो ।
“विद्यालयका बालबालिका, स्वास्थ्य प्रवर्धन केन्द्रमा आउने सेवाग्राही तथा वडा कार्यालयबाट प्रशासनिक सेवा लिने नागरिकलाई सुरक्षित पिउने पानी उपलब्ध गराउने उद्देश्यले परीक्षण गराउन लागेका हौँ,” कुइँकेलले भन्नुभयो ।
महानगरपालिकाका अनुसार धारा, जार वा अन्य स्रोतबाट प्राप्त पानी सङ्लो देखिँदैमा पिउनयोग्य हुन्छ भन्ने हुँदैन । पानीमा आँखाले नदेखिने जीवाणु तथा स्वास्थ्यमा असर पार्ने रासायनिक पदार्थ हुनसक्ने भएकाले पानीको नियमित परीक्षण, निगरानी र सुधार आवश्यक हुन्छ ।
अभिमुखीकरण कार्यक्रममा वडा नं. १ का सदस्य रसला तण्डुकारले जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको भए पनि पर्याप्त ध्यान पुग्न नसकेको विषयलाई महानगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले कार्यक्रमको सुरुआतसँगै परीक्षणको नतिजा सार्वजनिक गरी आवश्यक सुधारका काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
वडा सचिव सर्वज्ञराज पौडेलले नागरिकले विश्वास गरेर प्रयोग गर्ने पानी कति सुरक्षित छ भन्ने जानकारी हुनु आवश्यक रहेको बताउनुभयो । पानीको सुरक्षा र स्वच्छताका उपाय अवलम्बन गर्न परीक्षणबाट प्राप्त तथ्याङ्क महत्वपूर्ण आधार बन्ने उहाँको भनाइ छ ।
राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०७९ अनुसार पानीको गुणस्तर भौतिक, रासायनिक तथा जैविक पक्षका आधारमा निर्धारण गरिन्छ । मापदण्डले विभिन्न सूचकको नियमित परीक्षणको व्यवस्था गरेको छ । पानीको धमिलोपना, हाइड्रोजन आयन सान्द्रता, रङ, स्वाद र गन्धजस्ता भौतिक सूचकको दैनिक परीक्षण गर्नुपर्ने व्यवस्था छ भने कुल घुलित ठोस पदार्थको त्रैमासिक र विद्युतीय चालकत्वको मासिक परीक्षण गर्नुपर्ने हुन्छ ।
त्यस्तै, क्लोरिन अवशेषको दैनिक परीक्षण तथा अमोनिया, क्लोराइड, नाइट्रेट, कुल कठोरता र क्याल्सियमको मासिक परीक्षण गर्नुपर्ने व्यवस्था छ । फलाम, म्याङ्गानिज, सल्फेट, आर्सेनिक, क्याडमियम, तामा, फ्लोराइड, साइनाइड, सिसा, क्रोमियम, जस्ता, पारा र एल्युमिनियमलगायत रासायनिक सूचकको वार्षिक परीक्षण गर्नुपर्ने मापदण्डमा उल्लेख छ । सूक्ष्म जैविक पक्षमा ईकोलाई र कुल कोलिफर्मको मासिक परीक्षण गर्नुपर्ने व्यवस्था छ ।
महानगरपालिकाले पानीको नमूना सङ्कलन गर्दा स्रोतमा मात्र सीमित नरही वितरण प्रणाली, भण्डारण तथा उपभोक्ताले पानी प्रयोग गर्ने अन्तिम बिन्दुसम्मको अवस्थालाई समेत ध्यान दिने जनाएको छ । पाइपबाट वितरण हुने पानीका लागि धारा, पानी पोखरी, प्रशोधन केन्द्र तथा मुहानबाट नमूना लिन सकिने व्यवस्था छ भने ट्याङ्करबाट वितरण हुने पानीको नमूना सेवाग्राहीले पानी भर्ने पाइपबाट लिनुपर्ने हुन्छ ।
पानीको जैविक प्रदूषण पहिचानका लागि ईकोलाईलाई महत्वपूर्ण सूचकका रूपमा लिइन्छ । मानव तथा जनावरको दिशामा पाइने यो जीवाणु पानीमा भेटिए दिशाजन्य प्रदूषण भएको संकेतका रूपमा बुझिन्छ । त्यसैले पानीको जैविक सुरक्षा मूल्याङ्कनमा यसको परीक्षणलाई महत्वपूर्ण मानिन्छ ।
सहरी क्षेत्रमा ढल तथा सेप्टिक ट्याङ्कीबाट हुने चुहावट, खुला दिशापिसाब, पानीका स्रोतमा फोहर मिसिनु, अव्यवस्थित फोहर व्यवस्थापन, पाइपमा क्षति तथा प्राविधिक त्रुटिले पानी प्रदूषित हुनसक्ने महानगरपालिकाले जनाएको छ । कृषि क्षेत्रमा प्रयोग हुने मल तथा रसायन, औद्योगिक रसायन, जीर्ण पाइप तथा संरचनाबाट पनि रासायनिक प्रदूषण हुनसक्छ । बाढी, पहिरो र डुबानजस्ता विपद्का कारण पनि पानीका स्रोतमा फोहर तथा रोगजन्य सूक्ष्मजीव पुग्न सक्ने भएकाले जोखिम पहिचान आवश्यक हुने बताइएको छ ।
सुरक्षित खानेपानी सुनिश्चित गर्ने जिम्मेवारी पानी वितरण गर्ने निकायमा मात्र सीमित नहुने महानगरपालिकाको भनाइ छ । खानेपानी सेवा प्रदायक, सम्बन्धित सरकारी निकाय, स्थानीय तह, प्रयोगशाला, उपभोक्ता तथा अन्य सरोकारवाला निकायको समन्वयबाट पानीको गुणस्तर कायम गर्नुपर्ने हुन्छ ।
महानगरपालिकाले पानीको गुणस्तर परीक्षणबाट प्राप्त तथ्याङ्कलाई आगामी योजना तथा कार्यक्रम निर्माणको आधार बनाउने जनाएको छ । पानी सुरक्षा योजनाअन्तर्गत सम्भावित प्रदूषणको स्रोत पहिचान, जोखिम विश्लेषण, नियन्त्रणका उपाय निर्धारण, सुधार कार्ययोजना, कार्यान्वयन तथा नियमित अनुगमनलाई समेत जोड दिइनेछ ।
महानगरपालिकाका अनुसार वितरण प्रणालीबाट आएको पानी सुरक्षित भए पनि घर, विद्यालय वा कार्यालयमा रहेको ट्याङ्की, पाइप तथा भण्डारण भाँडाबाट पुनः प्रदूषण हुनसक्ने भएकाले अन्तिम प्रयोग बिन्दुसम्म सावधानी आवश्यक हुन्छ । त्यसका लागि पानी भण्डारण गर्ने ट्याङ्की तथा भाँडा नियमित सफा गर्ने, आवश्यक अवस्थामा स्वीकृत शुद्धीकरण विधि प्रयोग गर्ने र पानी निकाल्दा पुनः प्रदूषण हुन नदिने व्यवस्था गर्नुपर्ने हुन्छ ।
महानगरपालिकाका सामुदायिक विद्यालय, वडा कार्यालय तथा स्वास्थ्य प्रवर्धन केन्द्रमा हाल प्रयोग भइरहेको पानीको वास्तविक अवस्था भने अभिमुखीकरणपछि गरिने प्रयोगशाला परीक्षणको नतिजाबाट स्पष्ट हुने जनाइएको छ ।
